काठमाडौँ: दसैंमा घर जानका लागि लामो तथा मध्यम दुरीको बसको टिकट बुकिङ आजबाट खुलेको छ। टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कका काउन्टरमा टिकट काट्नेको एकाबिहानैबाट भिड लागेको छ।
टिकट बुकिङको लागि मानिसहरु बिहानैबाट लाइन लाग्ने गर्छन्। तीन/चार घण्टा लाइनमा बसेर टिकट बुकिङ गर्नुपर्ने बाध्यता रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन्।
यसअघि बससेवा डटकमको एपबाट आजबाटै टिकट काट्न सकिने बताइएको थियो। यद्यपि, अनलाइन टिकट बुकिङले काम नगरेको कतिपय सेवाग्राहीको गुनासो छ।
प्रमुख रुपमा नयाँ बसपार्कमा तथा पुरानो बसपार्की, कोटेश्वर, कलंकी, चाबहिल, सुन्धारा, सातदोबाटोलागयत क्षेत्रमा पनि टिकट बुकिङ गर्न सकिने नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ।
महासंघले सडकको अवस्था लगायतका विषय उठाएर टिकटको अग्रिम बुकिङ रोकेको थियो। असोज १९ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा भएको छलफलमा आजदेखि बसको अग्रिम टिकट खोल्ने सहमति भएको थियो।
वर्षामा बाढीपहिरोले बिगारेका सडक मर्मतदेखि सार्वजनिक सेवाका बसलाई रुट सहजीकरण‚ सुरक्षा हुनुपर्ने व्यवसायीको माग थियो।
