काठमाडौँ: त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले शनिवार खेलिएको आफ्नो तेस्रो खेलमा हङकङलाई ७९ रनले हराएको हो ।
टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रनको विशाल योगफल तयार पारेको थियो ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा ठुलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली हङकङले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रनमात्र बनाउन सक्यो । जारी प्रतियोगितामा नेपालको यो तेस्रो जित हो भने हङकङको दोस्रो हार ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको थियो । त्यसपछि नेपालले आफ्नो दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । निकट भविष्यमा आयोजना हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेलिएको हो ।
हङकङविरुद्धको खेलपछि टी—२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी विश्व कीर्तिमानी ब्याट्सम्यान बनेका छन् । हङकङविरुद्धको खेलमा कुशल र दीपेन्द्रले पाँचौँ विकेटका लागि एक सय ४५ रनको साझेदारी गरेका थिए । यो टी—२० क्रिकेटमा पाँचौँ विकेटका लागि सबैभन्दा ठुलो साझेदारी हो ।
यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौँ विकेटका लागि न्युजिल्यान्डमा मार्क च्याम्पम्यान र जेम्स निसामले एक सय २१ रनको साझेदारी गरेका थिए ।
सन् २०२३ को अप्रिल २४ तारिखमा खेलिएको पाकिस्तानविरुद्धको खेलमा मार्क र जेम्सले पाँचौँ विकेटका लागि अविजित एक सय २१ रनको साझेदारी गरेका थिए । त्यो खेलमा मार्कले अविजित एक सय चार र जेम्सले अविजित ४५ रन बनाएका थिए ।
