काठमाडौँ:
अवैध मोबाइल फोनको कारोबार नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्दैछ।
नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो।
पहिलो चरणमा अहिले प्रयोग भइरहेका ८ सयदेखि एक हजार मोवाइल सेट ब्लक हुने अनुमान प्राधिकरणले गरेको छ।
गत वर्ष असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको एमडीएमएस प्रणालीलाई आजदेखि लागू गर्न लागिएकाे प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।
‘पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएका छौं,’ अध्यक्ष खनालले भने, ‘अबदेखि हरेक दिन दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क आफैँ लक हुँदै जाने छन्।’
प्राधिकरणले एमडीएमएस लागू गर्नुपूर्व यही कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र विदेशबाट ल्याइएको मोवाइल दर्ता गरिसक्न जानकारी गराएको थियो।
प्राधिकरणले आफ्नो माेवाइल फोन याे प्रणालीमा दर्ता भएको छ वा छैन हेर्न सकिने जनाएकाे छ। एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर माेवाइल फाेन दर्ता भए नभएकाे हेर्न सकिन्छ। यसका लागि आवश्यक मोबाइलको आईएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ।
ह्यानडसेट नयाँ छ भने त्यसको आईएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएकाे छ।
प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकिएको जनाएको छ। तर त्यसपछि आएका धेरै मोबाइल दर्ता नभएका प्राधिकरणका अध्यक्ष खनालले बताए।
प्राधिकरणका अनुसार गत वर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा अझै दर्ता भएका छैनन्।
बजारमा अवैध मोबाइलको कारोबार रोक्न प्राधिकरणले एमडीएमएस प्रणाली लागू गरेको हो।
