काठमाडौं: चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सवा ५ खर्ब रुपैयाँबराबरकाे वस्तु आयात भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँको आयात भएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँको वस्तु आयात भएकाे थियो । गत आवको सोही अवधिको तुलनामा यो आयात ३.७९ प्रतिशतले कम हो ।
यस्तै, चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँको निर्यात गरेको थियो । गत आवको सोही अवधिको तुलनामा याे निर्यात ७.६८ प्रतिशतले घटेको छ ।
यस अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँको व्यापार घाटा देखिएको छ । गत आवको सोही अवधिमा ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँको व्यापार घाटा थियो ।
चार महिनामा ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । विभागका अनुसार कुल व्यापारमा आयातको हिस्सा ९१.०२ प्रतिशत र कुल निर्यातमा व्यापारको हिस्सा ८.९८ प्रतिशत देखिएको छ ।
पछिल्लो समय अर्थतन्त्र समस्यामा परेको धारणा उद्योगी व्यवसायीले राखिरहेका छन् । सरकार र सरकारी अधिकारीहरूले अर्थतन्त्र सकारात्क दिशामा रहेको बताइरहेका छन् । तर, विभागको तथ्यांकले अर्थतन्त्र समस्यामा पर्दै गएको देखिन्छ ।
