विराटनगर: कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
कार्कीको मुख्यमन्त्री नियुक्तिमा विमति राख्दै सर्वोच्च अदालत पुगेको कांग्रेस प्रदेश सभाकै बैठकमै उपस्थिति रहेन । कांग्रेसको उपस्थिति बिना प्रदेश सभामा कार्कीले बहुमत प्राप्त गरेका छन् । कार्कीको पक्षमा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उभिएका छन् । कांग्रेस सभामै उपस्थित भएन । अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै सरकारले हतारमा बिश्वासको मत लिने कार्य अघि बढाएको भन्दै मत प्रक्रिया सहभागी नबन्ने निर्णय गरेको हो ।
प्रदेश सभामा उपस्थित ६२ मध्ये मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको छ ।विपक्षमा कसैको मत परेन । विश्वासको मत लिने क्रममा संसद्लाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशबासीमा देखिएको निरास चिर्दै अघि बढ्ने जनाए । संयुक्त सरकारले नीतिगत सुधारदेखि खस्कँदो आर्थिक स्थितिलाई सुधार गरेर लैजाने बताए। उनले संघीयता कार्यान्वयनका लागि संघीय सरकारलाई दबाब दिने जनाए। कार्कीलाई विश्वासको मत दिएको नेकपा एकीकृत समाजवादीका सांसद कमल जवेगुले गठबन्धनमा रहेपनि तत्काल सरकारमा नजाने निर्णय भएकाले प्रतिपक्षको बेन्चमा बस्ने जनाए ।
राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले सरकार स्थिर बन्न नसकेकोमा चिन्ता ब्यक्त गर्दै यही कार्यकालमा छ पटक सम्म सरकार अदलवलद हुँदा जनता निरासाको भूमरीमा डुबेको बताए। ‘जनतालाई डेलिभरी दिनेभन्दा पनि राजनीतिक दाउपेचमा मात्रै प्रदेश सरकार सिमित भयो’, सिटौलाले भने,’स्थिर सरकार निर्माणमा सबै एकमत बनौं ।’
माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रीय सत्ता समीकरणमा आइरहने फेरबदलले प्रदेश सरकार अस्थिर बनेको स्वीकार्दै आगामी सरकारले प्रदेश सरकारलाई स्थिर र चलायमान बनाउने दिशातिर अघि बढ्ने दाबी गरे ।
