काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक चार दिने भ्रमणमा सोमबार निस्कँदै छन् । प्रधानमन्त्री भएपछि पहिलो द्विपक्षीय भ्रमण गर्न लागेका ओली सोमबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर विमानमा चीन जान लागेका हुन् । ओलीको टोलीमा ३९ जना सरकारी भ्रमण टोलीमा र ४७ जना व्यापारिक क्षेत्रबाट रहेका छन् । प्रधानमन्त्री ओली बेइजिङको स्थानीय समय अनुसार सोमबार बेलुकी साढे ५ बजे पुग्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयमार्फत प्राप्त जानकारीअनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने छन् । सोही द्विपक्षीय वार्तामा दुई मुलुक बीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुने छन् । त्यसपछि प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । साथै, सोही दिन चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन सोही दिने गर्ने छन् । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी रहने छन् । भ्रमणको चौथो दिन बिहीबार ओली बिहानै बेइजिङबाट काठमाडौंका लागि उड्ने छन् । उनी करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम तय भएको छ ।
सोमबार
बिहान ११ बजे काठमाडौंबाट उड्ने
बेलुकी साढे ५ बजे बेइजिङ पुग्ने
मंगलबार
चीनका प्रधानमन्त्री ली छ्यानसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने
चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने
चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने
बुधबार
पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने
नेपाल-चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्ने
बेजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुने
बिहीबार
बेइजिङबाट नेपालका लागि उड्ने
करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने
