काठमाडौँ:
विवादित व्यवसायी दुर्गा प्रसाईँमाथि विद्युतीय कारोबारसम्बन्धी कसुर (साइबर क्राइम) मा अनुसन्धान सकिएको छ।
प्रहरीको साइबर ब्युरोले उक्त कसुरमा अनुसन्धान सकेर आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) नविन्द अर्यालले बताए।
प्रसाईँलाई मंसिर ४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। साइबर क्राइममा अनुसन्धान गर्न सीआईबीले उनलाई साइबर ब्युरोमा बुझाएको थियो।
प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै विवादित सामग्री सामाजिक सञ्जालमा फैलाएका थिए। त्यसक्रममा उनले त्यसका प्रमाण हुन् भन्दै कागजातसमेत सार्वजनिक गरेका थिए। तर ती कागजात र उनले लगाएको आरोप झुटो रहेको भन्दै पक्राउ गरिएको थियो। प्रसाईँले अनुसन्धानका क्रममा आफूलाई अर्कै व्यक्तिले कागजात दिएको र उनलाई नचिनेको बयान दिएका छन्।
तर, साइबर ब्यूरोले भने उनले सार्वजनिक गरेका कागजात सक्कल नभएको र किर्ते तयार गरिएको दाबी गरेको छ। अब यो मुद्दामा उनीविरुद्ध सरकारी वकिल कार्यालयले जिल्ला अदालत, काठमाडौँमा सोमबार वा मंगलबार अभियोगपत्र दायर गर्नेछ। त्यसपछि मुद्दाको फैसला हुन्जेल थुनामै राख्ने कि थुनाबाहिरै बसेर प्रतिवाद गर्न दिने भनेर अदालतबाट आदेश हुनेछ। यस मुद्दामा जे आदेश भए पनि प्रसाईँ तत्काल थुनामुक्त भने नहुने भएका छन्।
भोलिबाट सीआईबीले अनुसन्धान थाल्ने
प्रसाईँमाथि साइबर ब्युरोले अनुसन्धान सकेसँगै अब सीआईबीले अनुसन्धान थाल्ने भएको छ। भारतीय आपराधिक समूह लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा उनका विरूद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।
सोही कसुरमा प्रसाईँसँग सोमबारदेखि नै बयान थालिने सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। मंसिर १३ गते सीआईबीले अर्का एक जनालाई पक्राउ गरेर आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
पक्राउ पर्नेमा पाँचथरको मौवा घर भई हाल झापाको मेचीनगर नगरपालिका-१३, चारआली बस्ने ३६ वर्षीय नवीन प्रधान भन्ने हरिचन्द्र फुयाल रहेका छन्। प्रसाईँको घर पनि झापा नै हो।
फुयालले भारतीय नम्बरबाट विभिन्न व्यवसायीहरूलाई फोन गरेर आफू आपराधिक समूह लरेन्स विश्नोईको सदस्य हुँ भन्दै धम्की दिएको आरोप छ। उक्त समूहले व्यवसायीलाई दुर्गा प्रसाईंसँग तुरुन्त माफी माग्न र अन्यथा ज्यान जान सक्ने धम्की दिएको पनि सीआईबीले बताएको छ।
उनले पक्राउ परेपछि यसरी धम्की दिने कार्य दुर्गा प्रसाईँकै निर्देशनमा गरेको बताएको एसपी बोगटीले जानकारी दिए। फुयाल यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ।
प्रहरीका अनुसार, फुयालविरूद्ध चेक बाउन्ससम्बन्धी दुईवटा मुद्दा फेला परेका छन्। सोही मुद्दामा धरौटीमा रिहा भएका उनी प्रसाईँसँग मिलेर अन्य अपराधमा पनि संलग्न भेटिएका हुन्।
अर्को चेक बाउन्सकै मुद्दा मोरङमा फेला परेको छ। फुयाललाई सीआईबीले यस कसुरमा अनुसन्धान सकिएपछि मोरङ पठाउने तयारी गरेको छ। प्रसाईँलाई भने यो मुद्दापछि सीआईबीले किर्तेको कसुरमा छुट्टै अनुसन्धान गर्ने तयारी गरेको छ।
प्रसाईँ र फुयालबीच बाक्लो संवाद भएको प्रमाण पनि प्रहरीले फेला पारेको छ। व्यवसायीहरूले आफूलाई धम्की दिएको भनेको दिन पनि प्रसाईँ र फुयालबीच पटकपटक संवाद भएको प्रमाण प्रहरीले फेला पारेको छ।
साइबर ब्युरोले अनुसन्धानन प्रतिवेदन बुझाए पनि आइतबार नै प्रसाईँलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति लिएको छ। यो मुद्दा दर्ता हुन बाँकी नै रहेकाले उनलाई हिरासतमा राख्न अनुमति लिइएको ब्युरोका अधिकारीले बताएका छन्।
प्रसाईँ भने हाल नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा छन्। उनले आफू क्यान्सरको रोगी भएको भन्दै रिहा हुनुपर्ने भनी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। तर सर्वोच्चले रिहा नहुने तर उपचारको व्यवस्था गर्नुपर्ने आदेश दिएको थियो।
सर्वोच्चको आदेशलगत्तै उनलाई क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो।
विवादित पृष्ठभूमिका व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पनि पक्राउ परेका थिए। रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।
उस्तै अपराधमा पटकपटक मुद्दा खेप्ने अभियुक्तलाई प्रहरीले ‘पकटे अपराधी’ भन्ने गरेको छ। पटकपटक कसुरमा संलग्नतालाई अदालतले पनि अपराधको गम्भीरता बढाउने तत्त्वका रूपमा लिएर थुनछेकसम्बन्धी आदेश तथा सजाय उपल्लो स्तरमा गर्न सक्छ।
