काठमाडौँ: सामाजिक सञ्जाल प्रयोगकर्ताले कसैको आईडी ह्याक गरेमा ३ वर्ष कैद र १५ लाख रूपैयाँसम्म जरिवाना हुने भएको छ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन भन्दै सरकारले ल्याएको नयाँ विधेयकमा यस्तो सजायसहितको व्यवस्था गरिएको हो।
विधेयकको दफा २१ को उपदफा १ मा भनिएको छ, ‘कसैले सामाजिक सञ्जालको प्रयोग गरी कसैको आईडी तथा सूचना ह्याक गर्नुहुँदैन।’
उपदफा २ ले यस्तो कसुर गर्नेलाई सजायको व्यवस्था गरेको छ। भनिएको छ, ‘उपदफा (१) बमोजिम कसूर गर्नेलाई तीन वर्षसम्म कैद वा पन्ध्र लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’
नयाँ विधेयकमा सरकारले प्रयोगकर्ताहरूका लागि निकै कडा सर्तहरू प्रस्ताव गरेको छ। कसैको नित्तान्त व्यक्तिगत तथा निजी तस्बिर, अडिओ वा भिडिओ सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिक गर्ने वा कसैसँग सेयर गर्ने धम्की दिई यौन शोषण, आर्थिक लाभ वा हिंसाका लागि बाध्य पारेमा ३ वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।’
