काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरूको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो ।
प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू एवं राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहनेछन् ।
यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता हुने गरी प्रचारप्रसार, मञ्च सजावट, ग्राउण्ड कवाज तथा व्यायाम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन उपसमिति गठन गरिएको छ । यसै गरी सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरे ।