काठमाडौँ । सरकारले भूमि सम्बन्धीसहितका सबै अध्यादेश सदनबाट पारित हुने दाबी गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले भूमिसम्बन्धी अध्यादेश लगायत सरकारले ल्याएका सबै अध्यादेश संघीय संसदबाट पारित हुने दाबी गरेका हुन् ।
भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्ला बजारको मात्रै भएको भन्दै उनले जसपा नेपालले यस बारे कुनै आधिकारिक निर्णय नगरेको बताए ।
उनले अध्यादेशका बारेमा सहमति खोज्न दलहरूसँग छलफल भइरहेको र सङ्क्रमणकालीन अवस्थामा नै रहेको धारणा राखे । प्रवक्ता गुरुङले सामाजिक सञ्जाल सम्बन्धी विधेयक सरकारले सदनमा पेस गरेको अवस्थामा त्यसलाई संशोधन गर्ने वा नगर्ने निर्णय सदनले गर्ने जिकिर गरे ।