काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले लोकतन्त्रको सीमा हुने भएकाले बोल्ने कुराको पनि सीमा हुनु पर्ने बताएका छन् । बुधबार २६औ यदु स्मृति दिवसमा बोल्दै मन्त्री गुरुङले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् गर्न नहुने बताए ।
त्यसकारण बोल्ने कुराको पनि सीमा हुनुपर्ने उनको भनाइ थियो । ‘हतियार उठाएर मात्रै हिंसा हुँदैन । हतियार उठाउन उत्तेजित गर्ने र उत्साहित गर्ने पनि हिंसा हो । सामाजिक सञ्जालबाट पनि हिंसा भइरहेको छ,’ उनले भने, ‘सामाजिक सञ्जाल नियमन गर्ने हो बोल्न रोकेको होइन । समाजमा गलत गतिविधिलाई रोक्न आवश्यक छ । आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन गर्नुभएन । बोल्न पाइने कि नपाइने भन्ने कुरा होइन । बोल्ने कुराका पनि सीमा हुन्छन् । लोकतन्त्रका पनि सीमा छन् ।’
सामाजिक सञ्चालन नियमन गर्न आवश्यक रहेको उनले बताए । ‘डिप फेक नियन्त्रण गर्नुपर्छ । सामाजिक सञ्चालन नियमन गर्न आवश्यक छ’, उनले भने, ‘कुनै मुलुकलाई कमजोर बनाउन संस्कृतिमा आक्रमण गर्ने हो । हाम्रो मुलुक बलियो छ। सांस्कृतिक आधारहरू छन् । जसले गर्दा हाम्रो मुलुक कसैको उपनिवेशमा परेन ।’
