काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन्।
राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरूले आँकलन नै नगरेको भए देश र जनताको लागि प्रतिगामी शक्तिसँग मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताएका हुन्।
‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ। देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ,’ उनले भने, ‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो। यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस्। पहिलाको युथ फोर्स जस्तै। यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरूले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्।’
ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने स्पष्ट पारे। आजै संसद्मा यही विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको बारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षीले अवरोध गरेका थिए। ओलीले त्यसैको जवाफ यता दिएका हुन्।
‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्काे नियुक्ति गर्यो सक्कियो। त्यही हो जवाफ। उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम हो्इन’ ओलीले भने।
प्रधानमन्त्री ओलील् यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको आरोप लगाए।
‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्,’ प्रतिपक्षीलाई ओलीले भने, ‘आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौँ न आत्तिन्छौँ। धैर्यपूवर्क अगाडि बढ्छौँ।’
