रेविकाबारे प्रहरीको भनाइ- झुक्किएर गोली लाग्यो
काठमाडौं । शुक्रबारको राजावादी प्रदर्शनका क्रममा विद्यार्थी रेविका खत्रीमाथि झुक्किएर गोली लागेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा त्यसको असर रेविका र उनका दाजुमाथि परेको स्पष्टीकरण दिएका हुन् ।
‘लुटपाट भएसँगै नजिकै गाडीमा आगजनी भएको थियो । त्यो स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहार गरिएको गोली लागेको हुनुपर्छ’, उनले भने ।
प्रहरीको दाबी : राष्ट्रिय गान बज्दा बज्दै टियर ग्यास हानेको डिपफेक भिडिओ हो
काठमाडौं । प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको आरोप खण्डन गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले बाहिर आएको भिडिओ फेक भएको दावी गरे ।
उनले अर्को ठाउँमा हानेको टियर ग्यास उछिट्टीएर मञ्चमा पुगेको हुन सक्ने बताए ।
उनको भनाइ यस्तो थियोः
‘कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन । कार्यक्रम सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने होइन । त्यो डिप फेक भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ?
एउटा पनि भिडियओ छैन जहाँ कार्यक्रम सुरु भइसकेको अवस्था देखिन्छ । राष्ट्रिय गान बजेको भनिएको छ त्यस्तो केही पनि होइन । झडप हुने क्रममा, टियर ग्यास हान्ने क्रममा त्यहाँ पनि पुगेको हो । एउटा टियर ग्यास एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ । प्रहरी कम्फर्टेबल स्थितिमा थिएन । हतारोमा कहिलेकाहीँं एंगल मिल्दैन । ’
राजावादीको आन्दोलनमा २० जनालाई गोली लागेको प्रहरीको स्वीकारोक्ति
काठमाडौं । नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको पुष्टि गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले सो जानकारी दिएका हुन् ।
गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन् । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेको आचार्यले बताए ।
आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भयाे । यस्तै, टियर ग्यास ७४६ राउन्ड, ब्ल्यांक फायर १९२ पटक भएको थियो । दुईवटा गोली पेस्तोलबाट प्रहार भएको उनले बताए ।
प्रदर्शनकारीको आक्रमणमा परी ५५ नेपाल प्रहरी २३ सशस्त्र प्रहरी घाइते भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहरीको बल प्रयोगबाट प्रदर्शनकारी ५३ जना घाइते भएको आचार्यले बताए ।
प्रसाईंलाई छिटै पक्राउ गर्छौं
केन्द्रिय प्रहरी प्रबक्ता आचार्यले पत्रकार सम्मेलनमा शुक्रबारको आन्दोलनका जनाकमांदर भनिने दुर्गा प्रसाईं जहान भएपनि छिटै पक्राउ पर्ने विश्वास ब्यक्त गरे ।