काठमाडौँ: हनुमानढोकास्थित आकाश भैरव अगाडि यःसिं (लिङ्गो) ठड्याई इन्द्रध्वजोत्थान गरिएदेखि शुरु भएको यँया डै पुन्ही अर्थात् इन्द्रजात्रा आज नानीचा याः गर्दै सम्पन्न हुँदैछ।
इन्द्रजात्राभित्र अरु धेरै जात्रा तथा पूजापाठ हुन्छ । यिनै जात्रा तथा पाठपुजाले इन्द्रजात्रालाई थप रौनक प्रदान गरेको हुन्छ जसका कारण कलिला नानीदेखि वृद्धवृद्धासमेत इन्द्रजात्रा अवधिभर रमाउने गर्छन् । नानीचा याःसँंगै यो रमाइलो समय पनि यस वर्षदेखि बिदा हुँदैछ ।
बालबच्चादेखि युवा तथा प्रौढलाई आकर्षित गर्ने जात्रामा कुमारीको रथयात्रा, उपाकु वनेगु, डागिँ वनेगु तथा बौमत जात्रा मुख्य छन् ।
मानिसलाई थप मनोरञ्जन दिई झुमिरहुँ बनाउने काम भने लाखे, भ्mयालिँचा नृत्य, पुलुकिसी जात्रा, कुमारी घर अगाडि दश अवतार, भक्तपुरको महाकाली प्याखँ, सबःभक्कु प्याखँ, ख्याः प्याखँ (ख्याःकको नाच ) तथा दिप्याखँजस्ता प्रदर्शनले गर्छन् । त्यस्तै हनुमानढोकामा हाथुद्यो प्रदर्शन, काष्ठमण्डप अगाडि इन्द्रराजको मूर्ति आदिले यो महीना निकै रमाइलो हुन्छ ।
कुमारी रथयात्रा
कुमारी रथयात्राको पहिलो दिन कुमारीघरमा बज्रयान बौद्ध तथा हिन्दू परम्परानुसार श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको विशेष पूजा गरी साइतमा रथयात्रा शुरु हुन्छ ।
पञ्चबुद्धको प्रतीक बुद्धको मुकुट पहिरिएका रातो, नीलो, पहँेलो, हरियो तथा सेतो रङको विशेष वस्त्र लगाएका पाँच बज्राचार्य गुरुलाई अगाडि राखेर कुमारीको रथयात्रा गरिन्छ । कुमारी रथ यात्राको पहिलो दिन असोज ८ गते क्वनेयाः रथयात्रामा श्रीकुमारी, श्रीगणेश तथा श्रीभैरवको रथलाई वसन्तपुरबाट तानेर काष्ठमण्डप, चिकंमुगल, न्हूघः, जैसीदेवल, ज्याःबहा, लगन, मुसुम्बहा, ह्युमतः, क्वहिटी, भीमसेनस्थान, सिंल्यंसत्तल, काष्ठमण्डप हुँदै पुनः कुमारीघरमा ल्याएर क्वँनेयाः(तल्लो भाग) समापन हुन्छ ।