काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङ हटेपछि लोडसेडिङ बढेको आरोप अस्वीकार गरेका छन् । यस्तो आरोप लगाउनेलाई उनले स्मार्ट मिटर चेक गरेर निस्कर्ष निकाल्न सुझाव दिए ।
आज श्वेतपत्र सार्वजनिक गर्नका लागि शाक्यले पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा पत्रकारको न्यून उपस्थिति देखियो । बरु कुलमान समर्थक एक गैर पत्रकारले कार्यकारी निर्देशक शाक्यलाई र्याखर्याख्ती पार्न खोजे ।
उनले आफूलाई ‘देश र जनताको मान्छे राजाराम तण्डुकार’ भनेर परिचय दिएका थिए ।
‘कुलमान घिसिङ हटेको एक हप्तादेखि नै पटक-पटक बत्ती निभ्न थाल्या छ । यो हलमा बसेको कसैले पनि होइन भन्न सक्दैन । सक्छ भने हात उठाउनु होला,’ तण्डुकारले भने ।
जवाफमा हितेन्द्र आफैँले पोडियमबाट हात उठाए ।
‘ल मैले हात उठाएँ । तपाईंलाई मैले डाटा दिएको छु । चैतसम्मको स्मार्ट मिटर चेक गर्नुस् । यसरी नबोल्नुस्,’ शाक्यले चेतावनी दिँदै भने ।
गैर पत्रकार पछि हटेनन् ।
उनले थपे, ‘तपाईंले एक्लै हात उठाउनुभो । पत्रकारले उठाउनुपर्यो । फालिसकेको इन्भर्टर खोज्नु पर्या छ । भुक्तभोगी म आफैँ हो । यो किन भइराख्या छ ? मेरो बुवा दौडिदौडी महसुल तिर्न जानुहुन्छ । तर, लोडसेडिङ भइराख्या छ । किन बत्ती निभिराख्या छ ? बिहान पनि बत्ती गएर मोबाइलै चार्ज गर्न पाइनँ ।’
गैर पत्रकार यसरी फत्फताउन थालेपछि एक पत्रकारले उनलाई रोक्न खोजे ।
‘बत्ती पहिले पनि जान्थ्यो, अहिले पनि जान्छ,’ उनले भने ।
गैरपत्रकारले जवाफ दिए, ‘पहिले कहिलेकाहीँ निभ्थ्यो । अहिले बारम्बार निभ्छ ।’
त्यसपछि मलाई बोल्न दिनुस् भन्दै शाक्यले जवाफ दिन थाले, ‘तपाईंको घरमा स्मार्ट मिटर छ ? राख्या छैन ? महाराजगञ्ज, बानेश्वर, रत्नपार्क बस्ने साथीहरूलाई सोध्नुस् न । एकजना साथीसँग स्मार्ट मिटरको डाटा माग्नुस् । हेर्नुस् त, कुलमान गएपछि धेरै लोडसेडिङ भएको हो ? चेक गर्नुस् न । लोडसेडिङ बढेको होइन, तपाईंको सोसल मिडियाको स्क्रिन टाइम बढेको जस्तो लाग्यो ।’