काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटेको हो । घटेको नयाँ मूल्य आज (मंगलबार) राति १२ बजेदेखि, अर्थात् २०८२ साउन १ गतेदेखि लागू हुने निगमले जनाएको छ ।
निगमका अनुसार, भारतीय आयल कर्पोरेसन (आईओसी) बाट १५ जुलाईमा प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको हो । आईओसीले पेट्रोलमा प्रतिलिटर ५.०३ रुपैयाँ र डिजेलमा १.३० रुपैयाँ घटाएर नयाँ मूल्य पठाएको थियो । सोही आधारमा निगम सञ्चालक समितिको बैठकले उपभोक्तालाई राहत दिँदै मूल्य घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य लागू भएसँगै अब विभिन्न क्षेत्रमा पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य कायम भएको छ ।
जसमा काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ बाट घटेर १६० रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १४९ बाट घटेर १४८ रुपैयाँ कायम भएको छ।
यस्तै, सुर्खेत र दाङ पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल/मट्टितेलको १४७ रुपैयाँ हुनेछ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५७.५० रुपैयाँ तथा डिजेल/मट्टितेलको १४५.५० रुपैयाँ कायम गरिएको छ।
