काठमाडौँ:
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अनुसन्धानका नाममा सरकारलाई नागरिकको ‘बेडरुम’सम्म पुग्ने अधिकार नभएको बताएका छन्।
सरकारले ल्याएको ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदाप्रति आपत्ति जनाउँदै सांसद शर्माले फोन संवाद सुन्नु, रेकर्ड गर्नु व्यक्तिको गोपनीयताको हक हननको विषय भएको टिप्पणी गरे।
‘यो विधेयक नागरिकको आफ्नो स्वतन्त्र ढंगले व्यवहार गर्ने विषय दुरुपयोग हुने र व्यक्तिगत स्वतन्त्रता हनन गर्ने, व्यक्तिगत स्वतन्त्रतामा सरकारले हस्तक्षेप गर्ने, गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डको कुराकानीसम्म पनि सरकारको पहुँच देखियो’, न्युज एजेन्सी नेपालसँग उनले भनेका छन्, ‘नेपालको संविधानले दिएको गोपनीयताको हकबमोजिम त दुरुपयोग हुनसक्ने अवस्था देखियो। यसमा सबैको ध्यानाकर्षण हुनुपर्छ।’
उनले अगाडि भने, ‘संविधान प्रतिकूल व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप पुग्नेगरी सरकारले गर्ने कार्य बिल्कुलै स्वीकार्य हुँदैन। व्यक्तिको गोपनीयताको हकको सन्दर्भमा सरकारले व्यक्तिको आँगनसम्म पुग्ने हो, बेडरुमसम्म होइन।’
कांग्रेस महामन्त्री शर्माले २०७६ केपी शर्मा ओली नै प्रधानमन्त्री भएका बेला यस्तै कानुन ल्याउन खोज्दा धेरै विरोध भएपछि पछि हटेको स्मरण गर्दै अहिले फेरि उनै प्रधानमन्त्री रहेका बेला त्यस्तो विधेयक ल्याइन खोज्दा शंका लागेको पनि बताए।
‘२०७६ सालमा यस्तै कानुन प्रस्तावित हुँदै गर्दा विरोध गर्दा बोलेको थिएँ। अहिले फेरी त्यही चिजलाई नयाँ कागजमा टाइप गरेर प्रस्तावित गरेको छ। यसमा गम्भीर पुर्नविचार गर्नुपर्छ’, उनले भने।
