कञ्चनपुर: प्रदेश नम्बर ७ को पश्चिमी गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकको संख्या बढ्दै गएको छ । अद्यागमन कार्यालय गड्डाचौकीको तथ्याङ्क अनुसार भारतको दिल्ली हुँदै नेपाल सडक रुटबाट तेस्रो मुलुकका नागरिक भित्रिन लागेका छन् ।
अद्यागमनको तथ्याङ्क अनुसार गड्डाचौकी नाका भएर ५ बर्ष ८ महिनाको अवधिमा १२ हजार ७५५ पर्यटक भित्रिएका छन् । सोही नाका भएर १० हजार २२४ पर्यटक बाहिरिएका छन् ।
उक्त अवधिमा २ हजार ५३१ पर्यटक बढि भित्रिएका छन् । ५ बर्ष ८ महिनाको अवधिमा हरेक बर्ष भित्रिनेको संख्यामा बृद्धि हुँदै गएको छ, भने बाहिरिनेको संख्यामा कमि आएको छ ।
सन २०१३ मा १ हजार, ७ सय ३९ भित्रिएका छन् भने १ हजार ६ सय ९ बाहिरिएका छन् । यस्तै ०१४ मा १ हजार ८०३ भित्रिए, २ हजार, १३३ बाहिरिए, ०१५ मा २ हजार ६० भित्रिए, १ हजार, ५३६ बाहिरिए, ०१६ मा २ हजार, ५८२ भित्रिए, १ हजार ५५९ बाहिरिए, ०१७ मा २ हजार, ७४५ भित्रिए, १ हजार, ७८९ बाहिरिएका छन् ।
सन २०१८ को जुलाई सम्ममा १ हजार, ८९६ भित्रिए र १ हजार ५९८ बाहिरिएका छन् । अद्यागमन कार्यालय गड्डाचौकी कञ्चनपुरका प्रमुख माधव भट्टले अमेरिका, जापान, ईजरायल लगायतका नागरिक यही नाका भएर नेपाल भित्रिने गरेको बताए। बनबासा पुल खुल्ने अवधि ८ घण्टा पुगेपछि तेस्रो मुलुकका नागरिक भित्रिने बढेको बताए ।
‘महाकालीमा पक्की पुल निर्माण भए, पर्यटक दोब्बर बढ्थे, ‘उनले भने, ‘पुल नै छैन, भएको पुल पनि दिनमा मुस्किलले ८ घण्टा मात्रै खुल्छ ।’ पुलकै झन्झटका कारण गड्डाचौकी नाका भएर नेपाल भित्रिने संख्यामा कमि आएको बताए ।
पश्चिमी नाका भएर भित्रिने पर्यटक सिधै पोखरा, काठमाण्डौँ, लुम्बिनी लगायतका स्थानमा जाने गरेको बताउनुभयो । सुदूरमा रहेका पर्यटकिय स्थलको सुधार नभएका कारण यस क्षेत्रमा पर्यटकको संख्या बृद्धि नभएको बताए ।
‘यहाँ थुप्रै पर्यटकिय स्थल छन, ‘उनले भने, ‘प्रचार प्रसार, भौतिक संरचना र सुरक्षा नभएका कारण पर्यटकको रोजाई हुँदैन् ।’ नेपाल पर्यटन बोर्ड गड्डाचौकीका प्रमुख थानेश्वर लेखकले पर्यटकिय आकर्षणका कार्यक्रम संचालन नभएका कारण सुदूरमा पर्यटक नआउने गरेको बताउनुभयो । उहाँले सुदूरका पर्यटकिय स्थलमा पर्यटकीय केन्द्र बनाउन सुरक्षाका साथै प्रचार प्रसारमा जोड दिए।
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले कञ्चनपुरमा पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि प्रचार प्रसारमा जोडदिनुपर्ने बताए।
मेयर विष्टले पर्यटक बढाउनका लागि छिमेकी मुलक भारतसंग हातेमालो गर्ने बताए ।
विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड गड्डाचौकीले नेपाल भित्रिने पर्यटकलाई स्वागत गरेको छ । यस्तै नेपाल प्रवेश क्षेत्रमा पर्यटकको स्वागतको लागि सुदूरको लोक छलिया नाच देखाएको छ । मेरिष्ठ काठ उद्योगका संचालक गणेश बोहराले विजयशालबाट निर्माण भएका गिलासको प्रचार प्रसार गरेका थिए ।फोटो क्याप्सन:
पर्यटन दिवसमा पर्यटकको स्वागत गरिदै –राजेन्द्र प्रसाद अवस्थी