विपद् प्रतिकार्यका लागि २० हजार प्रहरी परिचालन
काठमाडौँ । नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरेको छ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले विपद् व्यवस्थापन कार्यालयहरू, मातहतको गुल्महरू र प्रहरी कार्यालयहरूबाट यो सङ्ख्यामा जनशक्ति परिचालित रहेको बताए ।
कोशी प्रदेशमा हाल पनि जोखिम रहेको अवस्थालाई मध्यनजर गरी संयुक्त रूपमा सुरक्षाकर्मी परिचालित भइरहेको उनले बताए । काठमाडौँमा मात्रै शनिवार १ सय ३० जना प्रहरी परिचालन भएको र १५—१५ जनाको टोलीले र्याफ्टिङ बोटहरुसहित काठमाडौँको लागि मात्रै केन्द्रित गरेर काम गरेको भट्टराईले बताए ।
विपद् व्यवस्थापन कार्यालय मातहतकै विभिन्न सात प्रदेशमा रहेको प्रदेश प्रहरी गुल्महरूमा पनि १ सय २५ को दरले स्ट्याण्डबाइ रहेर मौसम प्रतिकुलताको समयमा परिचालित भइरहेको बताए। उनले इलाममा गएको पहिरोमा पुरिएका मानिसहरूको खोजतलास जारी रहेको बताए।
विपद्मा सशस्त्र प्रहरी: १३५ गोताखोर र ३ हजार ९ सय जना तालिम प्राप्त जनशक्ति परिचालन
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद् उद्धारमा परिचालन गरेको जनाएको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले जल तथा मौसम विज्ञान विभागले एक साता अगावै पूर्वानुमान गरेअनुरुप सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताए ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ अन्तर्गत रहेर सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण जनशक्तिहरूलाई स्ट्याण्डबाइ राखिएको उनले जानकारी दिए । कुल नेपालभर सात हजार ६ सय १५ जनशक्तिलाई तयारी अवस्थामा राखेको र जसमा १ सय ३५ जना गोताखोर र ३ हजार ९ सय जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको सुवेदीले बताए । देशका विभिन्न स्थानमा ३३ वटा मोटरबोट, ९६ वटा र्याफ्टिङ बोट गरी १ सय २९ वटा बोटलाई विपद्को इलाकामा तैनाथ गरिएको उनले बताए ।
उनले एक लाख ६८ हजार ६ सय ९५ जना विपद् सूचकहरूलाई पनि विपद् व्यवस्थापनमा समन्वय गरेको बताए। ९ सय ९० जना तालिम प्राप्त समुदाय विपद् स्वयंसेवकहरुसँग पनि समन्वयात्मक रुपमा काम गरेको सुवेदीले बताए ।
काठमाडौँ, रौतहट, झापा र इलाममा काम उद्धारको काम गरिरहेको, काठमाडौँको बल्खुस्थित बागमती आसपासमा बसोबास गर्ने सय जना सुकुम्वासीहरूलाई जनविकास मावि बल्खुमा स्थानान्तरण गरिएको उनले बताए ।
नेपाली सेनाद्वारा विपद् प्रतिकार्यका लागि २३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मी परिचालन
काठमाडौँ । नेपाली सेनाले मनसुनजन्य विपद् प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरू परिचालन गरेको जनाएको छ ।
नेपाली सेनाका रथी विष्णुकुमार खड्काका अनुसार नेपाली सेनाका ७७ वटै जिल्लाहरूमा तैनाथ ९४ वटा गणहरूबाट एक गुल्म र ५८ वटै गुल्महरूमा एक स्ट्यान्ड बाइ फौज आधारभूत उद्धार सामग्रीहरूसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखेको बताए ।
२७ स्थानमा २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरू आफ्ना इक्वीपमेण्टहरुसहित अग्रिम तैनाथ गरिएको अवस्थामा राखिएको उनले बताए । उद्धार छिटो होस् भन्ने हेतुले सुर्खेतमा र इटहरीमा एक—एक वटा हेलिकप्टर तैनाथ गरिएको जानकारी दिए । ज्येष्ठ अधिकृतहरूबाट समन्वय सरल बनाउन खबर सङ्कलन, अन्य सुरक्षा निकायहरू, स्थानीय निकायहरूसँग समन्वय गरिएको बताए ।
उनले डुबान इलाकामा बस्ती स्थानान्तरण र सुरक्षित स्थानमा राख्ने काम संयुक्त प्रयासमा गरेको बताए ।
