काठमाडौं । विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै आज आयोगमै औपचारिक पत्र बुझाएको छ ।
समूहले हिजो मात्र प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो । तर, आज उनीहरूले भौतिक उपस्थितिमै टंगालस्थित अख्तियार मुख्यालय पुगेर लिखित पत्र दर्ता गरेका हुन् ।
समूहका नेता रिजन राना (आदित्य)ले भने, ‘हामीले आज भौतिक उपस्थितिमै पत्र दर्ता गर्यौं । अब पनि राजीनामा नआए अन्य संघर्षका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । अहिले सल्लाह हुँदैछ ।’
यसअघि जारी गरिएको विज्ञप्तिमा जेनजी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाबिना भएको आरोप लगाउँदै उनीहरूले आयोगको विश्वसनीयता गुमाएको दाबी गरेको थियो ।
विज्ञप्तिअनुसार आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ बिना गरेको र त्यसले अख्तियारको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको उल्लेख गरिएको छ ।
