काठमाडौँ: भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा माघ ८ गते भएको झडप र उत्पन्न असहज परिस्थितिको दीर्घकालीन समाधान खोज्न आज गृह मन्त्रालयमा गृहमन्त्री ओम प्रकाश अर्याल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरू तथा उच्च पदस्थ अधिकारीहरूबिच छलफल सम्पन्न भएको छ।
सुधार गृहमा रहेका १८ वर्षमाथिका र कम उमेरका बालबिज्याइँकर्तालाई एकै ठाउँमा राख्दा पटक-पटक समस्या देखिएको समीक्षा गर्दै बैठकमा गृहमन्त्रीज्यूले मानव अधिकारको पूर्ण पालना हुनुपर्ने तर दण्डहीनता भने स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।
उहाँले यस्ता घटना भविष्यमा दोहोरिन नदिन र सुधार गृहको व्यवस्थापन चुस्त बनाउन मातहतका सुरक्षा निकाय तथा पदाधिकारीहरूलाई कडा निर्देशन दिनुभएको छ। समस्याको दिगो समाधानका लागि मन्त्रिपरिषद्को निर्णय बमोजिम नुवाकोट कारागारको खाली ब्लकलाई बाल सुधार गृहमा परिणत गरी १८ वर्षमाथिका बालबिज्याइँकर्ताहरूलाई त्यहाँ सार्ने तयारी गरिएको छ।
आजको बैठकमा दुवै मन्त्रीज्यूले सम्बन्धित मन्त्रालय र विभागहरूबिच प्रभावकारी समन्वय गरी १८ वर्ष नाघेकाहरूलाई यथाशीघ्र नुवाकोट स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशित गर्नुभएको छ।
