धरान: स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट असार १० गतेभित्र सम्बन्धित सभामा पेस गर्नुपर्ने व्यवस्था भएपनि धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट अझै नगरसभामा पेस गर्न सकेको छैन।
बजेट निर्माणका क्रममा जनप्रतिनिधिबीच विवाद भएपछि शुक्रबारका लागि तय गरिएको कार्यपालिका बैठक तथा नगरसभा स्थगित भएको छ। बजेटलाई अन्तिम रूप दिने विषयमा सहमति जुटाउन बजेट तर्जुमा समितिको बैठक बसे पनि विवाद भएपछि बैठक निष्कर्षविहीन बनेको हो।
धरान-१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) ले कार्यवाहक नगरप्रमुख आईन्द्रविक्रम बेघाले समितिमा पर्याप्त छलफल तथा सरसल्लाह नगरी करिब ३२ करोड रुपियाँ बराबरको बजेट तथा योजना राखेको आरोप लगाउनुभयो। उहाँका अनुसार सहकारी क्षेत्रका लागि पाँच करोड, नगर गौरव शीर्षकमा ११ करोड, नगर प्रमुख भिजनमा तीन करोड तथा सडक मर्मतसम्भारका लागि चार करोड रुपियाँ विनियोजन गरिएको विषयहरुमा प्रश्न उठाइएको छ।
योजना छनोट तथा रकम विनियोजनको आधार र प्राथमिकताका विषयमा समितिमा थप छलफल र सहमति आवश्यक रहेको वडाध्यक्ष राईले बताउनुभयो।
धरानको कार्यवाहक नगरप्रमुख आईन्द्र बिक्रम बेघाले बजेटलाई अन्तिम रूप दिने क्रममा धरान-वडाध्यक्ष राई र १५ का वडाध्यक्ष नरेश इवारमले आफूलाई अमर्यादित तथा अश्लील अभिव्यक्ति दिनुका साथै बैठकको मर्यादाविपरीत व्यवहार गरेको बताउनुभयो। उक्त घटनाका कारण बैठकको वातावरण असहज बनेको उहाँको भनाइ छ।
कार्यवाहक नगरप्रमुख बेघाका अनुसार सहकारी, धरानलाई खाल्डाखुल्डीमुक्त बनाउने योजना, नगर बस सञ्चालनलगायत नगरवासीको साझा हितसँग जोडिएका योजना तथा कार्यक्रमको बजेट कटौती गर्न दबाब दिइएको छ। लोकतान्त्रिक व्यवस्थामा मतभिन्नता र असहमति स्वाभाविक भए पनि संवाद, संयमता, पारस्परिक सम्मान र संस्थागत मर्यादाभित्र रहेर असहमति व्यक्त गर्नुपर्ने कार्यवाहक नगरप्रमुख बेघाले बताउनुभयो।
कानुनले तोकेको समयभित्र बजेट प्रस्तुत हुन नसक्दा धरानको विकास निर्माण तथा सेवा प्रवाहमा समेत असर पर्ने देखिएको छ। विगतमा पनि पटक–पटक नगरसभा समयमा हुन नसक्दा विकास निर्माणका काम प्रभावित हुँदै आएको नगरवासीको भनाइ छ। बजेटमा सहमति जुट्न नसक्दा चालु आर्थिक वर्षको सुरुवातमै धरान उपमहानगरपालिकाको आर्थिक तथा विकास गतिविधि अन्योलमा परेको छ।
