काठमाडौं: दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। टिकट लिनेहरूको अहिले नयाँ बसपार्क क्षेत्रमा भिडभाड देखिन्छ ।
कतिपय युवाहरू गएरातिदेखि नै नयाँबसपार्क क्षेत्रको टिकट काउन्टर अगाडि लाइन बसेका थिए ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
लामो तथा मध्यम दूरीका सवारी साधनलाई यात्रुको चापअनुसार रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट परमिटसमेत खुला गरिएको छ।
दसैंको समयमा ढुवानीका सवारी साधनले फलफूल, तरकारी, औषधि, खसी–बोका तथा अत्यावश्यक खाद्यान्न र सामग्रीलाई प्राथमिकताका साथ ढुवानी गर्नेछन्।
अन्य सामग्रीको ढुवानी आवश्यकताअनुसार पछि सारिने विभागले जनाएको छ।
यात्रुलाई टिकट तथा भाडासम्बन्धी समस्या नहोस् भनेर विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। हाल १५ स्थानमा यस्ता कक्ष सञ्चालनमा छन्।
बसपार्क, कोटेश्वर र बल्खुलगायत मुख्य स्थानमा यातायात व्यवस्था विभाग, व्यवसायी, मजदुर संगठन र ट्राफिक प्रहरी सम्मिलित कमिटीसमेत गठन गरिएको छ।
तोकिएकोभन्दा बढी भाडा लिएको, टिकटमा कालोबजारी गरेको वा अन्य समस्या भए सहायता कक्ष तथा १०० नम्बरमा ट्राफिक प्रहरीलाई जानकारी गराउन सकिने व्यवस्था गरिएको छ।
विभागले तोकिएको भाडादरअनुसार मात्र टिकट बिक्री गर्न र बिचौलियामार्फत हुने कालोबजारी नियन्त्रण गर्न निर्देशन दिएको छ।
