काठमाडौं: गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई प्रहरी अधिकृतको निलम्बन फुकुवा गरेको जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामकृष्ण सुवेदीका अनुसार २०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको मात्रै निलम्बन फुकुवा भएको छ। तर डीएसपी पराजित केसीको भने आजसम्म कुनै निर्णय नभएको उनले बताए।
उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणपछि पक्राउ परेका लोहनी तत्कालीन अवस्थामा अपराध अनुसन्धन महाशाखा र खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेका थिए ।