काठमाडौँ: निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख रहेका निलम्बित एसपी दिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरेको ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धानमा लापरबाही गरेको भन्दै निलम्बनमा परेका बिष्ट र भट्टलाई प्रहरी प्रधान कार्यालयको सिफारिशमा बिहीबार साँझ गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको हो।
गृहले प्रेस बिज्ञप्ति जारी गर्दै विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको जनाएको हो ।
साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।
उक्त घटनाको अनुसन्धानमा कञ्चनपुर प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख रहेका इन्स्पेक्टर भट्टले लापरवाही गरेको भेटिएको थियो ।
विष्ट भदौ १० र भट्ट ३१ गते निलम्बनमा परेका थिए । पछिल्लो पटक सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो । दुबैले लापरवाही नभएको दाबी गरेका थिए ।
तर, दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमावलीअनुसार एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्ति पढ्न तलको लिंकमा जानुहोस
http://moha.gov.np/public/upload/e66443e81e8cc9c4fa5c099a1fb1bb87/files/sasu10252018193149.pdf

