काठमाडौं: दशैं अगाडी आकासिएको तरकारीको मूल्य दशैं सकिएसँगै ह्वातै घटेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा दशैं पछि तरकारीको मूल्यमा ६० प्रतिशतभन्दा बढीले कमि आएको कालिमाटी फलफूल तथा तरकारी बजारका व्यापारी भगवान उप्रेतीले बताए ।
दशैंको लागि काठमाडौँ छोडेका उपभोक्ता फर्की नसकेकाले तरकारीको माग घट्नगई मूल्यमा भारी गिरावट आएको उनले बताए ।
उनले भने -“हाल उपत्यकामा ४०० टनभन्दा कम तरकारीको माग छ तर आपूर्ति ८०० टनभन्दा बढी छ । तरकारी बिक्रि नभएर कालिमाटीमै कुहिन थालेको छ ।”
अहिले सबै हरियो तरकारीको थोक मूल्य औसतमा १८/२० रुपैयाँ प्रतिकिलो भएको उनले बताए ।
दशैं अगाडी थोकमै ५० रुपैयाँ भएको काउली अहिले २० रुपैयाँमा झरेको छ बन्दा प्रतिकिलो १८ रुपैयाँ, मूला ८ रुपैयाँ, सिमी २२ रुपैयाँ, लौका प्रतिकिलो १० रुपैयाँ, भन्टा प्रतिकिलो १८ रुपैयाँ र गोलभेंडा प्रतिकिलो १८ रुपैयाँमा झरेको उप्रेतीले बताए ।
यधपी, आलुको मूल्यमा वृद्धि भएको उनले बताए । आज शनिबार नयाँ आलु प्रतिकिलो ८० रुपैयाँमा कालिमाटीमा ब्रिकी भएको छ ।
उनले भने-“बजारमा उपभोक्ताको चहलपहल धरै कम छ । तरकारीको किनबेच कम हुँदा व्यापारी समेत निराश छन् भने किसान नोक्सानी ब्योहोर्न बाध्य छन्।”
थोक बजारमा तरकारीको मूल्यमा भारी गिरावट आएपनि खुद्र बजारमा तरकारीको मूल्य भने सामान्य रुपमा घटेको बताउदै उनले भने खुद्रा व्यापारीले थोक मूल्यमा तीन गुणासम्म बढीमूल्य लगाउने गरेका छन् ।
कालिमाटीमा प्रतिकिलो ८ रुपैयाँ भएको मूलको मूल्य खुद्रा बजारमा प्रतिकिलो ४० रुपैयाँसम्म बिक्रि भएको पाइएको छ ।
तरकारीको मूल्यमा भारी गिरावट आएसँगै किसानहरु भने निराश भएको बताउदै उनले भने हालको तरकारीको मूल्यबाट किसानको लागत समेत उठ्दैन।
“भण्डारण व्यबस्था नभएको कारणले गर्दा मूल्य नभएपनि किसानहरु तरकारी बेच्न बाध्य छन् । यदि भण्डारण व्यवस्था भएको भए खपत कम भएको अवस्थामा तरकारी स्टोर गरे किसन तथा उपभोक्तालाई फाइदा पुग्ने थियो ।”