काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको शान्ति प्रक्रियामा उनको योगदान स्मरणीय रहेको बताएका छन् ।
आज अपराह्न दिवङ्गत हुनुभएका तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले भने, “नेपालको शान्ति प्रक्रियामा उनले यस्तो समन्वयकारी भूमिका निर्वाह गर्नुभयो, जसले साँच्चै नै नयाँ राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान गर्नुभयो ।”
नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रजका रुपमा स्वर्गीय तुलाधरलाई सम्झँदै उनले मानवाधिकार संरक्षणको क्षेत्रमा पनि उहाँले गर्नुभएको योगदानलाई नेपालीले सधैँ सम्झिरहने बताए ।
यसैबीच तुलाधरका परिवारसँगको कुराकानीमा उहाँले राष्ट्रिय सम्मानका साथ उहाँको अन्त्यष्टि गर्न पहल गरिने बताए । नेकपाका अर्का नेता अमिक शेरचनले तुलाधर मानवाधिकार र राजनीतिक अधिकारको अगुवा रहेको भन्दै उंले राष्ट्रलाई दिएको योगदान अविस्मरणीय रहेको प्रतिक्रिया दिए ।
यसअघि नर्भिक अस्पतालमा श्रद्धाञ्जलिका लागि पुग्नुभएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका बिर्सन नसकिने उल्लेख गरे । नेकपाका महासचिव विष्णु पौडेलले राजनीतिक तथा मानवाधिकार संरक्षणका क्षेत्रमा उहाँले गर्नुभएको योगदान अविस्मरणीय रहेको बताए ।
नेत्री हिसिला यमीसहित अस्पताल पुग्नुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तुलाधार आदर्शवान् र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया दिँदै भने, “लोकतान्त्रिक आन्दोलन र पञ्चायती शासनविरुद्धको खम्बा हुनुहुन्थ्यो ।” उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि अस्पताल पुगेका थिए ।
मानवाधिकारकर्मी सुबोध प्याकुरेलले तुलाधर सामाजिक न्याय र लोकतन्त्रलाई दृढतापूर्वक पक्रिएर अघि बढ्ने मूर्धन्य व्यक्तिका रुपमा स्मरण गर्दै मानवाधिकार अनुकूल शासन व्यवस्था हुनुपर्छ भन्ने पक्षका अभियानकर्मीका रुपमा सम्झिए।
अधिकारकर्मी दमननाथ ढुङ्गानाले जिन्दगीभर निष्ठाको लडाइँ लड्ने तथा वामपन्थी राजनीति, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिका रुपमा सम्झिए। उनले तुलाधरको अवसानपछि शान्तिप्रक्रियाको बाँकी कामलाई सम्पन्न गर्न सरकारले गम्भीरताका साथ पूरा गर्नुपर्नेमा बताए ।
प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठ अधिकारकर्मी मल्ल के सुन्दर, संस्कृतिविद् डा चुन्दा बज्राचार्य, बौद्धविद्वान् राजेन्द्रमान बज्राचार्य, दुर्गालाल श्रेष्ठलगायत विभिन्न व्यक्तिले अस्पताल पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरे । श्रद्धाञ्जलिका लागि अस्पतालमा तुलाधरका शुभेच्छुक तथा शुभचिन्तकको भीड लागेको थियो ।
नेपाल भाषा मंका खलःका महासचिव नरेशवीर शाक्यले तुलाधरको पार्थिव शरीरलाई घरमा लगेर आज रातभरि पूजा तथा परित्राण पाठ गरिने जानकारी दिए । मस्तिष्काघात भएर उनलाई अघिल्लो शुक्रबार अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । गत बिहीबार छाती र मूत्रनलीमा सङ्क्रमण भएपछि नर्भिकमा ल्याइएको उनका ज्वाइँ गौरी प्रधानले जानकारी दिए । गए राति ३ बजेदेखि भने उनको अवस्था जटिल हुँदै गएको उने बताए ।
छातीको गम्भीर सङ्क्रमणबाट आज दिउँसो १२: ४५ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा ७८ वर्षको उमेरमा तुलाधरको निधन भएको हो । पूर्वस्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए।
उनी पत्रकार तथा साहित्यकार पनि थिए। स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन्। उनको पार्थिव शरीरलाई अहिले अस्पतालबाट लाजिम्पाटस्थित घरमा लगिएको छ । उनको सोमबार बिहान शोभाभगवतीमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् ।
–––