काठमाडौँ: पछिल्लो केहि वर्षदेखि अलैचीको उत्पादन तथा निर्यात बढ्दै गएको छ । हाल अलैंची नेपलाबाट निर्यात हुने बस्तु मध्ये पाँचौ स्थानमा रहेको छ ।
व्यवसायीहरुका अनुसार नेपालबाट वार्षिक ५ अर्व रुपैयाँ भन्दा बढीको अलैची निर्यात हुने गरेको छ । नेपालमा पूर्वी पहाडबाट शुरु भएको अलैँचीको व्यवसायीक खेती हाल ४५ जिल्लामा फैलिइसकेको छ ।
व्यापार तथा निकाशी प्रबर्धन केन्द्रका अनुसार गत वर्ष नेपालबाट ४ अर्ब ८४ करोड रुपैयाँको अलैंची निर्यात भएको थियो जुन अघिल्लो वर्षको तुलनामा २५ दशमलब १ प्रतिशतले बढी हो ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ७५ करोडको अलैंची निर्यात भएको छ ।
अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार पछिल्लो तीन वर्षदेखि अलैंचीको उत्पादन वार्षिक १५ देखि २० प्रतिशतले बढेको छ ।
यधपी अलैंची खेतीको विस्तार भएको अनुपातमा उत्पादन बढ्न नसकेको उनले बताए । हाल ४५ जिल्लामा १५ हजार हेक्टर जमिनमा अलैंची खेति हुने गरेको छ ।
गत वर्ष ५५,००० टन अलैंची उत्पादन भएको बताउदै विभिन्न कारणले गर्दा यो वर्ष मुस्किलले गत वर्षको हाराहारीमा उत्पादन हुने उनले बताए ।
उनले भने- “पछिल्लो समय यसतर्फ किसानहरुको आकर्षण बढ्दो छ । तर वार्षिक रुपमा अलैचीको भाउ भने घटिरहेको छ । केही वर्ष अघि सम्म प्रतिमन एक लाख रुपैयाँ पर्ने अलैंचीको मूल्य अहिले ३०-३२ हजार रुपैयाँ झरेको अवस्था छ ।”
नेपालका पहाडि जिल्लाहरुमा यसको प्रशस्त सम्भावना रहेको छ । राज्यले यस खेतीतर्फ आकर्षित गर्न अलैचीको राष्ट्रिय नीति बनाउने र सहयोग रकमलाई बढाउने हो भने अलैची खेतीमा लाग्नेको संख्या थप बढ्ने उनको भनाई छ ।
यदि सरकारले अलैंचीको व्यापार प्रबर्धनमा र किसानलाई सहयोग गर्नसके यसको निर्यात बढी चुलिदो ब्यापार घाटा कम गर्नको साथै ग्रामिण किसानको आर्थिक अवस्था माथि उठाउन सकिने उनको बताए ।
हाल सम्म नेपालमा उत्पादित अलैचीको मुख्य बजार भारत हो । तर पछिल्लो समय भारत आफैले पनि अलैची उत्पादनमा बृद्धि गर्दै लगेपछि व्यवसायीहरु निकासीका लागि तेस्रो गन्तव्यको खोजीमा छन् । साउदी अरब, दुवई, कतार, मलेसिया लगायतका देशमा अलैंचीको माग धेरै हुने हुदाँ अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको पहुँच विस्तार जरुरी भएको उनले बताए ।
“धेरै वर्षको मेहनत र सरकारको सहयोगले गर्दा यो वर्षदेखि दुबईमा नेपालबाटआलैंची निर्यात गर्न थालेको छ भने भर्खरै भएको राष्ट्रपतिको कतारको भ्रमणको समयमा व्यवसायीबीच एक हजार अलैंची कतार निर्यात गर्ने सहमति भएको छ । जुन कदम नेपालबाट तेस्रो मूलकमा अलैंची निर्यात गर्ने कोशेढुंगा हुने छ ।”