काठमाडौं: धरहरा भत्तिएको चार बर्षपछी प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन्।
सुन्धारामा आज बिहान आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।
भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो ।
प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी-रमन जेभीलाई दिएको छ ।
भूकम्पले भत्किएको धरहरालाई सिसाभित्र राखेर संरक्षण गर्ने र त्यसकै छेउँमा पुरानै शैलीमा अत्याधुनिक सुविधासहित नयाँ धरहरा निर्माण हुने प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।
नयाँ बन्ने धरहरा २२ तलेको हुने पनि मानन्धरले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित थिए ।