काठमाडौँ: प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी सरदकुमार गिरीलाई आज जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन्।
मन्त्रिपरिषद्को यही पुस १३ गतेको निर्णयअनुसार उपरथी गिरी रथी दर्जामा पदोन्नति हुनुभएको हो । रथी दर्जामा पदोन्नति हुनुभएका रथी गिरीलाई बलाध्यक्षको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति थियो ।
प्रधानसेनापति थापाले आजै बाराको जितपुरस्थित श्री नं २८ बाहिनी अड्डा र महोत्तरी किसाननगरस्थित राष्ट्रिय सेवादल मध्यपूर्वी तालीम शिक्षालयको निरीक्षण भ्रमण गरी स्थलगत वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको नेपाली सेनाले जनाएको छ ।