काठमाडौं: पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच संसदमै तनाव देखिएको छ । यही तनावकैबीच कांग्रेसले अहिले संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ।
दुई तिहाई बहुमतको शक्तिशाली सरकारका निर्णयमाथि खासै कठोर कदम नचालेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सङ्घीय संसदको हिउँदे अधिवेशन सुरु भएसँगै निकै आक्रामक देखिएको छ ।
काँग्रेसले विभिन्न मुद्दा उचालेर सरकारमाथि दबाब बनाउन खोजेको छ भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले पनि दुई तिहाईको शक्ति र संसदीय सर्वोच्चता देखाएर विपक्षी काँग्रेसलाई तह लगाउन खोजेको छ ।
पुस ११ गते संसद बैठक सुरु भएकै दिन काँग्रेस सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएपछि काँग्रेसले आफ्नो आक्रामक रूप देखाएको हो ।
यसका लागि काँग्रेसले संसद र सडक दुबैमा सङ्घर्षको नीति लिएको छ । सोहीअनुसार उसले जुन भेटिन्छ त्यही मुद्दा उचालेर संसद पटक–पटक अवरोध गरेको छ भने काँग्रेसका भ्रातृ संस्था सडकमै उत्रेका छन् ।
काँग्रेसले आफ्ना नेताका नाममा खुलेको स्वास्थ्य संस्थाप्रति कम्युनिस्ट सरकारले अनुदार नीति लिएको आरोप लगाएको छ ।
यही मुद्दालाई देखाएर काँग्रेसले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ संसदमा पेश हुन र पारित हुनबाट रोक्न खोजेको छ । यसका लागि काँग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । सत्तापक्ष जोडबोलमै भए पनि विधेयक पारित गराउने दाउमा छ । त्यसैले मौसम चिसो भए पनि केही दिन यता राजनीति भने तात्दो छ ।
के–के मुद्दामा सरकार विरोधी माहौल बनाउँदैछ काँग्रेस ?
आन्तरिक गुटबन्दीको भूमरीमा फसेको काँग्रेसले संसदमा सशक्त प्रतिपक्षीको भूमिका खेल्न नसकेको भन्दै धेरै आलोचना र टीकाटिप्पणी भए । त्यस्तो आलोचना जनस्तरबाट मात्र हैन, पार्टीभित्रैबाट पनि भए ।
राजनीतिक विश्लेषकहरूले त ‘निरीह प्रतिपक्ष’ भनेर व्यङ्ग्यात्मक शैलीमा आलोचना गरिरहे । अरू त अरू, सत्तारुढ दलका नेताहरू समेत व्यङ्ग्य गर्न पछि परेनन् । दशैँलगत्तै काँग्रेसद्वारा आयोजित चियापान कार्यक्रममा आमन्त्रित सत्तारुढ नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ‘देशको प्रतिपक्षी दल कहाँ गएछ भनेर खोज्न आएको’ व्यङ्ग्यात्म अभिव्यक्ति दिएका थिए ।
सबैतिर काँग्रेसको आलोचना भएपछि एक महिनाअघि काठमाडौँमा सम्पन्न काँग्रेस महासमिति बैठकले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको थियो ।
त्यही निर्णयअनुसार पुस ११ गते सदनमा बोल्दै प्रमुख प्रतिपक्षी नेता देउवाले सोधे, ‘खोई, सरकार कहाँ छ ?’ यो प्रश्नमार्फत उनले ‘प्रतिपक्षी कमजोर’ छैन भन्ने सन्देश दिन खाजेका थिए ।
त्यसयता काँग्रेसले सदनमा आफूलाई सशक्त प्रतिपक्षीका रूपमा उभ्याउन अनेकन तिकडम प्रयोग गर्न थालेको छ ।
पुस २२ गते संसदमा सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल प्रश्न गर्न नपाएको भन्दै काँग्रेसले त्यस दिनको सदन अवरुद्ध गर्यो ।
केही समयअघि सरकारले देशका नौ अस्पताललाई सङ्घीय सरकारअन्तर्गत समितिमा राखेको तर तनहुँस्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई नसमेटिएकोमा काँग्रेस अरू आक्रोशित बनेको छ ।