काठमाडौँ: स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा गोविन्द केसीलाई आफ्ना माग सम्बोधनका लागि वैधानिक बाटो रोज्न आग्रह गरेका छन्।
आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा राज्यमन्त्री अर्यालले डा केसीले आफ्ना माग संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकमार्फत रोज्ने भन्दै विधेयकमा सांसदमार्फत संशोधन हालेर आफ्ना माग पुरा गर्न आग्रह गरे ।
विश्वविद्यालय, मेडिकल कलेज तथा अस्पतालमा गएर अनसन बसेर डा केसीको माग पुरा नहुने उनको भनाइ थियो । डा केसीले जस्तै आफूलाई चित्त नबुझेको कुरामा प्रत्येक नेपालीले अनसन बस्न थाल्यो भने के हुन्छ भने प्रश्न गदै उनले आफूलाई लागेको बेला अनसन बस्न नपाइने बताए । डा केसीको जायज माग सम्बोधन हुने राज्यमन्त्री अर्यालले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य योगेश भट्टराईले केदारभक्त माथेमा प्रतिवेदनबाट चिकित्सा क्षेत्र सुधारका लागि सुझाव लिएको भन्दै शतप्रतिशत कार्यान्वयन गर्न नसकिने बताए ।
“माथेमा प्रतिवेदन सुझाव दिन मात्र बनाएको हो । प्रतिवेदनमा १० वर्षसम्म काठमाडाँैमा कलेज नखोल्ने भनेर सुझाव मात्र दिइएको हो,” उनले भने– “माथेमाले दिएको सुझाव मान्नुपर्दछ भन्ने छैन, सुझाव हो, राम्रो लागे मान्ने हो, नभए मान्ने होइन ।”
भट्टराईले कसैले केहीका लागि अनसन बस्दैमा माग पुरा गर्नुपर्ने भन्ने नभएको बताए । डा केसीले भनेका सबै माग पुरा गर्नुपर्ने भन्ने कुरा केही उल्लेख नगरिएको भन्दै उनले भने, “केसीले भनेका मात्र कलेजलाई सम्बन्धन दिने, अरुलाई नदिने भनेर कहाँ लेखेको छ ।”
नेता भट्टराईले डा केसी हरेक पटक अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उहाँको अनशनको उद्देश्य नै शंकास्पद रहेको धारणा राखे । अहिलेसम्म सम्बन्धन दिएका कलेजलाई संसदीय छानविन समिति गठन गरेर छानविन गर्नुपर्ने उनको भनाइ थियो ।
“मेडिकल कलेजमा पढ्दा पास हुने, अनि नेपाल मेडिकल काउन्सिलमा परीक्षा दिँदा फेल हुने,” उनले भने – “त्यसैले ती सम्बन्धन दिएका कलेजमाथि छानविन हुनुपर्छ ।” मेडिकल कलेज कसैलाई सिफारिस देउ, कसैलाई नदेउ भन्ने अधिकार डा केसीको नभएको नेता भट्टराईले बताए ।
नेपाली काँंग्रेसका नेता सुरेन्द्र पाण्डेले डा केसीका कतिपय माग जायज भएकाले छलफल गरेर टुङ्याउनुपर्ने बताए । उनले केसीका मुद्दालाई देखाएर काँग्रेसलाई राजनीति गर्ने रहर नभएको स्पष्ट परे ।
कार्यक्रममा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा ढुण्डीराज पौडेलले डा केसीका माग सरकारले वार्ताबाट टुङ्याउनुपर्ने बताए ।
त्यसैगरी, डा. गोविन्द केसीका समर्थकहरुले नागरिक समाजका अगुवा दमननाथ ढुंगानालाई भेटेर सरकारलाई सम्झाइदिन आग्रह गरेका छन् ।
अधिवक्ता डा. सुरेन्द्र भण्डारी, चरण प्रसाइँ लगायतले बुधबार अपराहृन ढुंगानासँगै प्रा. वीरेन्द्र मिश्रलाई संयुक्त रुपमा भेटेर आमरण अनसनरत गंगामाया अधिकारी र डा. गोविन्द केसीको अवस्थाबारे जानकारी गराएका छन् ।
चिकित्सा शिक्षा अध्यादेशलाई सबैले स्वीकार गरेको भन्दै उनीहरुले त्यसलाई नै विधेयकमा रुपमा ल्याउन सरकारलाई सम्झाइदिन आग्रह गरेका छन् ।