काठमाडौँ: आर्थिक वर्ष २०७४/ ७५ को एघार महिनासम्ममा कुल वस्तु व्यापार घाटा २४ दशमलब ६ प्रतिशतले विस्तार भई १० खर्ब ३३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कुल वस्तु निर्यात १० दशमलब ४ प्रतिशतले वृद्धि भई ७४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैकले प्रकाशित गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति रिपोर्टमा अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलब ३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ८ दशमलब ७ प्रतिशत, चीनतर्फ ९१ दशमलब ६ प्रतिशत र अन्य मुलुकतर्फ ८ दशमलब १ प्रतिशतले निर्यात बढेको छ ।
वस्तुगत आधारमा अलँैची, पोलिष्टर यार्न, जुटको बोरा, धागो, जस्तापाता लगायतका वस्तुको निर्यात बढेको छ भने जि.आई पाईप, जुटको रस्सी, जुस, उनी गलैँचा, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात २३ दशमलब ५ प्रतिशतले बढेर ११ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३० दशमलब ९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २५ प्रतिशत, चीनबाट भएको आयात २५ दशमलब ३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८ दशमलब १ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, एम.एस. विलेट, सिमेन्ट, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ्क ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगंज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको निर्यातमा वृद्धि भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २४ दशमलब ६ प्रतिशतले विस्तार भई १० खर्ब ३३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलब ७ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलब ५ प्रतिशत रहेको थियो ।
निर्यात आयात मूल्य सूचकाङ्क
आर्थिक वर्ष २०७४/७५ को एघार महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ६ दशमलब २ प्रतिशतले बढेको र आयात मूल्य सूचकाङ्क ११ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा ४ दशमलब ४ प्रतिशतले ह्रास आएको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त १ दशमलब ५ प्रतिशतले बढेको थियो । कार्पेट, पित्तलको पाता, यार्सागुम्बा, कत्था, लगायतका वस्तुहरुको मूल्य बढेको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो ।
समीक्षा अवधिमा कुल सेवा आय ९.९ प्रतिशतले र कुल सेवा खर्च १३ दशमलब ४ प्रतिशतले बढेको कारण खुद सेवा आय १ अर्ब ५९ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६ खर्ब रुपैयाँले बचतमा रहेको थियो । सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा १३ दशमलब प्रतिशतले वृद्धि भई ६२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४१ दशमलब ८ प्रतिशतले बढेको थियो ।