रियो डि जेनेरो : ब्राजिलको उत्तरी राज्य पारामा रहेको एक कारागारमा भएको दङ्गामा परी ५७ जनाले ज्यान गुमाएका छन ।
यस झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएको छ ।
यद्यपी १६ जनाको घाँटी काटिएको थियो भने अन्य ४१ जनाको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको अधिकारीहरूले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
कारागारभित्र रहेका दुई परस्पर विरोधी समूहबीच भएको हिंसा भड्किएको अधिकारीहरूले जनाएका छन् ।
पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बन्दीको कब्जामा परेका दुई जेल अधिकारीहरूलाई मुक्त गरिएको छ ।
स्थानीय समयानुसार सोमबार बिहान करिब ७ बजे सुरु भएको हिंसा मध्याह्नतिर नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन् ।
विश्वमै सबैभन्दा बढी बन्दी रहेका देशहरूमा ब्राजिल तेस्रो हो । त्यहाँ रहेका जेलमा भिडभाड हुने गरेको छ ।