काठमाडौं: रामेछाप लगायत मुलुकका विभिन्न ठाउँमा विजुलीको नांगो तारले छोएर चार जनाको ज्यान गएको घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले दुःख व्यक्त गरेका छन्।
उक्त घटनाप्रति ध्यानकर्षण जनाउँदै ऊर्जामन्त्री पुुनले आइतबार नै ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीसँग छलफल गरेका छन्।
मन्त्री पुनले काठ र स्टिलका पोलहरूका कारणले मानवीय क्षति बढिरहेको भन्दै तत्काल समस्याको समाधान गर्न निर्देशन दिए। मन्त्री पुनले विद्युतीकरणको सुरक्षाको पाटोलाई ध्यान दिन पनि आग्रह गरेका छन्।
विद्युतीकरणमा गुणस्तरहीन काम समेत हुने गरेको उल्लेख गर्दै ऊर्जामन्त्री पुनले गुणस्तरयुक्त काम बनाउने दिशातर्फ ध्यान दिन पनि निर्देशन दिए।
मन्त्री पुनले काठको पोल प्रयोग गरेको कारण भएका मानवीय क्षतिलाई कम गर्न र देशभर काठका पोलहरु विस्थापित गर्न मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी समेत दिए।