काठमाडौं : नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आर्थिक तथा औद्योगिक क्षेत्रका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।
आइतबार साँझ परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले आर्थिक, औद्योगिक तथा व्यावसायिक क्षेत्रका वर्तमान समस्याबारे आफू गम्भीर रहेको बताउँदै समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
चीनका राष्ट्रपति सि जीनफिङको भ्रमणको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर हुनुपर्ने बताए ।
परिसंघका अध्यक्ष मोरले चीनका राष्ट्रपतिको भ्रमण अत्यन्तै सफल भएकोमा प्रधानमन्त्रीलाई बधाइ समेत दिए । भ्रमणका क्रममा भएको सम्झौता तथा समझदारीले हिमाल सीमापार–बहुआयामिक सम्पर्क विस्तारमा थप महत्व दिएको छ ।
यसबाट निजी क्षेत्र उत्साही भएकाले त्यसको कार्यान्वयनका लागि तीब्र सक्रियता खाँचो रहेको पनि मोरले उल्लेख गरे । अध्यक्ष मोरले प्रधानमन्त्रीसँग भने, “कनेन्टिभिटीका ठूला पूर्वाधार तथा व्यापार विस्तारका लागि तयार गरिने संयन्त्रले आर्थिक विकासलाई ठूलो मद्दत पुग्ने भएकाले राष्ट्रपति सीको भ्रमणबाट निजी क्षेत्र उत्साहित भएको छ ।”
यसैगरी तीब्र आर्थिक विकासका लागि प्रधानमन्त्रीले लिएको पहलको प्रसंशा गर्दैै परिसंघले त्यो लक्ष्य हाँसिल गर्न निजी क्षेत्रले पूर्ण सहयोग गरिरहेको अवस्थामा देखिएका समस्या समाधानमा पनि प्रधानमन्त्रीको अग्रसरता लिनुपर्ने बताए ।
एकै पटक आएका नयाँ–नयाँ कानुन र नियमनकारी व्यवस्थाले उद्योगी व्यवसायीहरु दबाबमा परेको तथा यसबाट नयाँ लगानीका लागि वातावरणमा संकुचन देखिएको भन्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
सामान्य त्रुटिमा समेत उद्योगी व्यवसायीलाई पक्राउ गर्ने जस्ता घटनाले व्यावासायिक क्षेत्र हतोत्साहित हुन सक्ने भन्दै उनले प्रधानमन्त्रीलाई अवगत गराए ।
कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्र बैँक लगायत सम्बन्धित निकायको सहभागितामा प्रधानमन्त्रीकै मातहतमा उच्चस्तरिय समिति गठन गर्न पनि अध्यक्ष मोरले आग्रह गरे ।
सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारका विभिन्न निकायमा छिटो–छिटो सरुवा तथा विभागीय फेरबदल हुदाँ त्यसको प्रतिकूल असर उद्योग व्यवसायमा परेको बताए । यसैगरी, वित्तीय क्षेत्रमा तरलता अभाव कम गर्न तथा पुँजी बजारमा लगानीकर्ताको मनोबल बढाउन प्रधानमन्त्रीले थप पहल लिनुपर्ने अवस्था आएको तर्फ पनि परिसंघ प्रमण्डलले ध्यानाकर्षण गराएको थियो ।
लगानीकर्ताको आत्मबल सुधार हुन नसक्दा पुँजी बजार अघि बढ्न नसकेको भन्दै सुधारका लागि परिसंघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । सूचीकृत कम्पनीहरुको नाफा बढिरहेको छ । लाभांश अनुपात पनि बढेको छ । पुँजी बजारका नियमकानुन पनि सुधार्ने काम भइरहेका छन् । यति हुँदाहुँदै पनि लगानीकर्तामा आत्मबल सुधार नहुँदा बजारले गति लिएको छैन ।
सरकारको अस्थिर नीति र कर मात्र असुल्ने नीतिले पुँजी बजार धराशायी भएको हो । यसलाई सुधार गर्न उद्यमी तथा लगानीकर्ताले आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा परिसंघका तर्फबाट अध्यक्ष मोरसहित निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे र राष्ट्रिय परिषद् सदस्य अनलराज भट्टराई सहभागी थिए ।