काठमाडौँ: नेपाल आयल निगमले लकिङ प्रणाली जडान नगरेका ट्याङ्करहरुको तेल ढुवानी साउन एक गतेदेखि बन्द गरेको छ ।
इण्डियन आयल कर्पोरेशन (आईओसी)को टोलीसँगको सहकार्यमा लामो अध्ययनपछि नेपालमा पनि यो प्रणाली लागू गरिएको हो ।
आईओसीको विभिन्न डिपोदेखि तेल भरेर नेपाल आयल निगमका सबै डिपोमा आउने ट्याङ्करहरुमा यो प्रणाली लागू भईसकेको निगमका प्रबक्ता बिरेन्द्र गोइतले जानकारी दिए ।
उनले भने- यो प्रणाली आईओसीका सबै डिपोदेखि तेल भरेर नेपाल आयल निगमका डिपोमा तेल ढुवानी गर्ने ट्याङ्करहरुमा लागू भईसकेको हुनाले यो प्रणाली जडान नगरेका ट्याङ्करहरुलाई साउन एक गतेदेखि तेल ढुवानीमा रोक लगाएका छौ ।
निगमले पहिलेदेखिनै सबै ट्याङ्करहरुलाई लकिङ प्रणाली जडान गर्न आग्रह गरेको थियो तर अटेरी गरेर यो प्रणाली जडान नगरेका ट्याङ्करहरुको ढुवानी बन्द गर्न बाध्य भएको गोइतले बताए ।
उनले भने-‘अहिलेले हामीले पहिलो चरणमा यो प्रणाली छिटो जडान गर्न आग्रह गर्द्दै केहि समयको लागि मात्र ढुवानी रोकेका छौ । यदि साउन महिनाभित्र पनि प्रणाली जडान नगरी अटेर गरेमा त्यस्ता ट्याङ्करहरुलाई ढुवानीबाट हटाउछौ/पर्मिट खारेज गछौ’ ।
आईओसीबाट नेपालमा तेल ढुवानी गर्ने एक हजार ८ सय ट्याङ्कर मध्ये लगभग ३०० ट्याङ्करमा यो प्रणाली जडान नभएको उनले पहिलोक्लिकलाई बताए ।
दुई महिना अघि पहिलो चरणमा सिलिगुडीबाट भित्रिने ट्याङ्करमा सो प्रणाली लागू गरिएकोे थियो ।लकिङ प्रणाली लागू हुदा आगामी दिनमा ट्यांकरबाट हुने इन्धन चोरी चुहावट पुरै नियन्त्रणमा आउने उनले बताए ।
यसअघिको शिललाइ परिमार्जन गरेर लकिङ प्रणाली (बलियो शिलसहितको चाबी ) शुरु गरिएको हो । प्रणाली सजिलै फुटाउन सकिदैन र यो नखोली तेल निकाल्न मिल्दैन त्यसैले यस्को प्रभाबकारीता बढि देखिने अनुमान निगमले गरेको छ ।
यो प्रणाली अनुसार आईओसीको डिपोमा तेल भरेपछि बलियो शिल सहितको चाबी लगाइन्छ र त्यो चाबी नेपाल आयल निगमको डिपोमा खोलि तेल खनाएपछि पुन:चाबी लगाइन्छ I यसरी ट्याङ्कर सधै लक हुने हुनाले बाटोमा तेल चोरीको सम्भावना कम भएको गोइतले बताए ।
यो प्रणाली अन्तरिक तेल वितरणमा पनि लागू गर्ने तयारी निगमले गरेको उनले बताए ।