काठमाडौँ: प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन् । उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए ।
प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका छन् । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ ।
प्रधानमन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि नियमित डायलाइसिस होइन, प्रत्यारोपणमा जाने निष्कर्षमा पुगेका छन् । प्रत्यारोपण कहिले गर्ने र स्वदेशमा गर्ने कि विदेशमा भनेर छलफल भइरहेको छ ।
शनिबार अस्पतालमा पनि यो विषयमा छलफल भएको थियो । प्रधानमन्त्री र उनका परिवारले नेपालमै प्रत्यारोपण गर्दा सफल हुने सम्भावना कति छ भनेर चिकित्सकहरूसँग पटकपटक जिज्ञासा राखेका छन् ।
चिकित्सकहरूले शतप्रतिशत भन्न नसकिने, तर विदेश र नेपालमा भिन्नता नहुने स्पष्ट पारेका छन् । प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई मिर्गौला दान गर्न चाहनेहरू भने धेरै छन् ।
तर, कानुनले परिवारजनबाट मात्रै मिर्गौला लिन मिल्ने निश्चित गरेको छ । परिवारभित्रैबाट मिर्गौला लिन पनि ओलीलाई असजिलो छैन । किनकि, ऐनले मिर्गौला दिन सक्ने आफन्तको फराकिलो दायरा बनाएको छ । यो खबर नयपत्रिकामा रहेको छ ।
