काठमाडौँ: पुनर्गठनको छैटौँ वर्षगाँठ मनाइरहँदासम्म विप्लवले पार्टीको राजनीतिक कार्यदिशाका विषयमा आफ्नै पार्टीका नेताहरुलाइ समेत विश्वस्त बनाउन सकिरहेको नदेखिएको छ । कतिपय सन्दर्भमा पार्टी नेताहरु स्वयम् पनि कार्यदिशामा अलमलिइरहेका देखिन्छन् ।
खासगरी एकीकृत जनक्रान्तिको फौजी कार्यदिशाको बुझाइमा नेताबीच नै अन्यौल छ । दीर्घकालीन छापामार युद्ध कि मध्यम वर्गलाई पनि साथमा लिएर सशस्त्र जनविद्रोह भन्नेमा मतऐक्यता छैन । कतिपय नेताले पछिल्लो पटक कार्यदिशामै अलमल देखिएको भन्दै पार्टीसमेत छाडेका छन् । यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।
प्रहरीको तथ्याङ्क अनुसार ०७५ साल फागुन २८ गते प्रतिबन्ध लागेपछिको ८ महिनामा केन्द्रदेखि जिल्ला स्तरीय पदाधिकारी तहका ७२ सहित १ हजार १ सय ५० नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले पार्टीका महासचिव चन्दसहित ५ सय १९ जनाको नाम फरार सूचीमा राखेको छ ।
हिंसात्मक गतिविधिमा लागेको आरोपमा चन्द समूहका नेता कार्यकर्ताविरुद्ध देशभरका अदालतमा १ हजार ८८ वटा मुद्दा दर्ता छन् । पक्राउ परेका मध्ये ६१ जना सोधपुछपछि छुटेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ८ सय ३४ जनालाई अदालतले धरौटी र साधारण तारेखमा छाडेको छ । १ सय ३७ जना पुर्पक्षका लागि कारागारमा र ८८ जना अनुन्धानको क्रममा प्रहरी हिरासतमा छन् ।