काठमाडौं : नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक आज मंगलबार राजधानीमा बसिरहेको छ ।
सन्धिको संशोधनमा थपिने बुँदाको मस्यौदालाई बैठकले अन्तिम रूप दिने गरी आज छलफल भइरहेको नेपाली टोलीको नेतृत्व गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।
यो बैठक, नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा नेपाल भारत व्यापार सहजीकरणमा महत्त्वपूर्ण मानिएको छ ।
यसअघि भारतले सहमति जनाएको जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई समेत बैठकले अन्तिम रूप दिने सहसचिव ढकालले बताए ।
हल्दिया–साहिबगन्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगबारे पनि बैठकमा छलफल हुनेछ ।
यस्तै, विशाखापट्टनमबाट जोगबनी (विराटनगर) रक्सौल (वीरगन्ज) र सुनवल (भैरहवा)सम्मका ब्लक कार्गो ढुवानीसम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
यस्तै विद्युतीय कार्गो निगरानी प्रणाली इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (ईटीएस) सम्बन्धमा पारवहन सन्धिमा आवश्यक व्यवस्था गर्ने विषयमा पनि बैठकले अन्तिम रूप दिने सहसचिव ढकालले जानकारी दिए ।
झण्डै १० सदस्यीय नेपाली टोलीमा वाणिज्य सहसचिव ढकालसहित यातायात, परराष्ट्र, कानुन मन्त्रालयका सहसचिव पनि सहभागी हुनेछ ।
उस्तै संख्यामा भारतीय टोलीको नेतृत्व एडिस्नल सेक्रेटरी भूपेन्द्र सिंह भल्लाले गर्नेछन् ।
