भक्तपुर: भक्तपुर क्षेत्र नं १ प्रदेश (क)मा आज हुन गइरहेको उपनिर्वाचनको दिन पेप्सिकोला, मध्यपुरथिमि राधेराधेदेखि काभ्रे नाकासम्म सवारी साधन प्रवेशमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज विज्ञप्तिमार्फत भोलि हुने उपनिर्वाचनको सुरक्षालाई दृष्टिगत गरी बिहिबार राति १२ देखि आज राति ९ बजेसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधन प्रवेशमा रोक लगाएको जनाएको छ ।
एम्बुलेन्स, शववाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृत एवं स्वीकृत सवारी पास प्राप्त गरेका सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनलाई प्रवेशमा रोक लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
प्रहरीले अरनिको राजमार्ग काभ्रेको साँगादेखि मध्यपुरथिमिको राधेराधेसम्मको सडक खण्डबाट उत्तरतर्फ जाने सम्पूर्ण सडकमा सवारी प्रवेश निषेध गरेको छ ।