चिप्लेढुङ्गा: तेह्राँै दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बङ्गलादेशले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज बिहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तानमाथि ३१–१५ गोलको नतिजा निकाल्दै बङ्गलादेशले कास्य पदक जितेको हो ।
भारतको गुहावटीमा भएको १२ औंँ सागको उपविजेता बङ्गलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । बाह्रौँ सागमा पाकिस्तान कास्य पदक विजेता हो । पहिलो हाफमा १७–५ ले अगाडि रहेको बङ्गलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो ।
बङ्गलादेशका लागि मोसम्मत रुबिना वेगमले सर्वाधिक नौ गोलको योगदान दिइन । त्यसपछि अल्पोना अख्तरले टोलीका लागि ६ गोल थपिन । खाडिजा खातुन र सुमी वेगमले पाँच पाँच गोलको योगदान गरे ।
पाकिस्तानका लागि नुसरत बानोले सर्वाधिक पाँच गोल गरेका थिए । बङ्गलादेशकी मोसम्मत वेगमले पहेंलो कार्ड पाएका थिए ।
