काठमाडौं :गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) लाई छिन्नभिन्न पार्न सफल भएकोमा नेपाल प्रहरीलाई धन्यवाद दिएका छन ।
आज शुक्रबार राजधानीमा आयोजित नयाँ ब्याजका प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले विप्लव समूह अब छिन्नभिन्न भइसकेकाले यस्तै समूहका अन्य गतिविधिविरुद्ध कडा रुपमा उत्रन प्रहरीलाई निर्देशन दिएका छन ।
‘शान्ति सुरक्षामा खलल पुर्याउने समूहविरुद्ध प्रहरी र सुरक्षा निकायको कारबाहीले प्राप्त गरेको सफलताबाट त्यो समूहका गतिविधि छिन्नभिन्न भएको छ,’, अझै पनि केही आपराधिक, विखण्डकारी र प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहहरु सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा खलल पुर्याउन सक्रिय रहेकोले त्यस्ता समूहको सुक्ष्म विश्लेषण गरी योजनाबद्ध रुपमा कारबाहीमा उत्रिनुस, गृहमन्त्री बादलले भने ।
प्रहरीले इमान्दारितापूर्वक बगाएको पसिना र रगतको सरकारले उचित मूल्याङ्कन गर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले निर्धक्क भएर जिम्मेवारी निर्वाह गर्न पनि प्रहरीलाई नेतृत्वसहित कर्मचारीलाई निर्देशन दिए ।
गृहमन्त्री थापाले पछिल्लो समय प्रहरीको काम प्रशंसनीय भएको उल्लेख समेत गरे । यद्यपि प्रहरीको आचरण र व्यवहार सामाजिक मूल्य र मान्यताअनरुपको हुनुपर्ने पनि गृहमन्त्री थापाले बताए ।