काठमाडौँ: नेपालको पहिलो पेमेन्ट गेट वे ‘इसेवा फोन पे र नेपाल वायुसेवा निगमबीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ।
सम्झौता पत्रमा इसेवाका तर्फबाट सिओओ रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै इसेवाबाट सोमबारदेखि नै वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिने व्यवस्था छ यसअघि इसेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स्, यति एयरलाइन्स्, सिम्रिक एयर, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो ।
नेपाल एयरलाइन्स्ले हालैमात्र २ सय ७४ सिटका वाइडबडि जहाज सञ्चालनमा ल्याएको छ । निगमको बजार विस्तारलाई अनलाइन टिकटिङले पनि सहयोग पुर्याउने विश्वास लिइएको छ ।
इसेवामा वायु सेवा निगमको अनलाइन टिकटिङको सेवा थपिएपछि इसेवाका सिओओ लामिछानेले भने ‘अनलाइन टिकटिङको लागि नेपाल एयरलाइन्ससंग गर्न पाउँदा हामीलाई खुसी लागेको छ । अब यात्रुहरूले आन्तरिक सँगै बाह्य उडानमा पनि सहजै इसेवामार्फत् टिकट खरिद गर्न सक्नुहुनेछ ।’
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
हालसम्म इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका इसेवाफोन पेले जनाएको छ । हाल इसेवाकादेशभर करिब ३६ हजारभन्दा बढी एजेन्ट (इसेवा जोनतथा पोइन्ट)रहेका छन् । यी जोन पोइन्टबाट यात्रुहरूले सहजै एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्छ ।