पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा गएको हिमपहिरोमा हराएका ४ कोरियाली र ३ नेपाली पर्यटकको सिम्रिक एयरको हेलिकप्टरले आइतबार उद्धार टोलीसहित खोजी गरेको छ।
रेक्को डिभाइसले हराएकाहरूको मेटल सिग्नल पाएको उद्धार टोली कोअर्डिनेटर सुरज पौडेलले जानकारी दिए। सिम्रिक एयरका पाइलट आनन्द थापा उद्धार टोलीका प्राविधिक छिरिङ डेन्डुप भोटे, आङतासी शेर्पा र पौडेलसहितको टोलीले आइतबार दिउँसो ३ बजेदेखि हिमपहिरो गएको हिङ्कु खोलामा मानिसको सिग्नल पाएको उनले जानकारी दिए।
रेक्को हराएका मानिस खोजी गर्ने विशेष यन्त्र हो। स्विट्जरल्यान्डमा तालिम लिएका सिम्रिक एयरका पाइलट थापासहितको टोलीले दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोजी गरेको थियो। हिङ्कु खोला क्षेत्रमा ठूलो हिमपहिरो रहेको पनि उनले बताए। सोमबार पनि यही प्रक्रियाअनुसार फेरि खोजी गरिने उनले बताए।
मौसमका कारण जमिनबाट खोजी गर्न सकिएको छैन। शनिबार बेलुकी फेरि हिमपात भएकाले पुनः पहिरो गएको र आइतबार दिउँसो १२ बजेदेखि पुनः हिम परेकाले खोजीकार्य अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए।
ठूलो हिमपहिरो गएको र पहिरो गएको ठाउँ साँघुरो र जोखिमयुक्त भएकाले जमिनबाट खोजी गर्न कठिन भएको टे«किङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष हरि भुजेलले बताए। प्रहरी र स्थानीय बासिन्दा पहिरो क्षेत्रतर्फ रहे पनि हिउँ परिरहेकाले खोजीमा समस्या परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
ली मिन सु, किम सुक जा, जोङ पिल बोङ र चोई ह्यो वोन गरि चार जना कोरियाली र नेपाली पथप्रदर्शक सरोज परियार र २ सहयोगी मिनबहादुर लामा (तामाङ) तथा छिरिङ भोटे पहिरोपछि सम्पर्कविहीन छन्।