काठमाडौं: बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा गोपाल प्रसाद तिवारी नियुक्त भएका छन् ।
मुलुकका वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरुको छाता संगठन – बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको कार्यसमितिको बैठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो ।
नेपालस्थित अन्तर्राष्ट्रिय वित्त निगम तथा विश्व बैंक जस्ता संस्थाहरुमा काम गरिसकेका तिवारीसँग विभिन्न वैदेशिक दातृ निकायहरु, सार्वजनिक एवं निजी क्षेत्र र सञ्चार क्षेत्रको लामो अनुभव छ ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. १० श्रीचौरमा जन्मिएका तिवारी केही समय अघिसम्म नेपाल सरकार, दातृ निकाय तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित एवम् सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रुपमा रहेको नेपाल व्यवसाय मञ्चमा वरिष्ठ परामर्शदाता थिए ।
अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँग आवद्ध तिवारी निजी क्षेत्र, आर्थिक तथा वित्तीय क्षेत्रका व्यावसायिक विषयवस्तुका साथै समग्र अर्थतन्त्रका जानकार मानिन्छन ।
अर्थशास्त्रमा स्नातकोत्तर तिवारीले नेपालमा लगानीको वातावरण सुधारसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन ।