काठमाडौँ: सत्तारुढ नेकपाको पार्टी एकतापछि पहिलोपटक केन्द्रीय समितिको बैठक बुधबार (आज) बाट शुरु हुँदै छ । बैठक ५ दिनमा सक्ने तयारी भएको छ ।विधानतः ६–६ महिनामा बस्नुपर्ने बैठक नेकपाले २१ महिनासम्म पनि नबोलाएकोमा पार्टीभित्र अध्यक्षद्वयको आलोचना हुँदै आएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो ।
बैठकको राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।
पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो। नेकपाको गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो। पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एकपटक बस्ने व्यवस्था भए पनि डेढ वर्षमा पहिलो पटक बस्न लागेको हो। विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ।
बैठकको तयारीका लागि अहिले नेकपाको सचिवालय बैठक चलिरहेको छ। प्रचार विभाग उपप्रमुख थापाका अनुसार बुधबारदेखि सञ्चालन हुने बैठकको एजेण्डा तय गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको छ। केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
यसैगरी विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन्। यसअघि पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रियसभाको निर्वाचन कारण सारिएको थियो। विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो। पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो। त्यसयता बैठक हुनसकेको छैन।
बैठक यही माघ २० गतेसम्म चल्ने छ। बैठकमा केन्द्रीय सदस्यलाई परिचयपत्रसमेत वितरण गरिने नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वर रिजालले जानकारी दिए। महाधिवेशनपछिको कार्यकारी कमिटी केन्द्रीय कमिटीलाई लिने गरिन्छ। पार्टीको नीति, सिद्धान्त र योजना केन्द्रीय कमिटी बैठकले नै बनाउने गर्छ। केन्द्रीय कमिटी आगामी एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि पार्टीको सर्वोच्च संस्था हुनेछ भनेर विधानमा उल्लेख गरिएको छ।