काठमाडौँ: चालु आर्थिक वर्षको ६ महिनामा नेपालको वैदेशिक व्यापार ७ खर्ब ५१ अर्ब ९७ करोड पुगेको छ । जुन गत वर्षभन्दा २.२६ प्रतिशतले कमी हो । गत वर्ष समीक्षा अवधिमा नेपालको वैैदेशिक व्यापार ७ खर्ब ६९ अर्ब ३४ करोड हाराहारी थियो ।
पुस महिनाको अन्त्यसम्म ६ खर्ब ९४ अर्ब ६९ करोडको बस्तु आयत गर्दा ५७ अर्ब २७ करोड ९७ लाख बराबरको बस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । समिक्षा अवधिमा आयात ४.०४ प्रतिशतले घटेको र निर्यात २६ प्रतिशतले बढेको छ।
गत वर्षको तुलनमा वैदेशिक व्यपार घाटामा ६.०६ प्रतिशतको सुधार आएको पनि विवरणमा उल्लेख छ । समीक्ष अवधिमा मुलुकको व्यापार घाटा ६ खर्ब ३७ अर्ब ४१ करोड पुगेको छ । गत वर्ष व्यापार घाटा ६ खर्ब ७८ अर्ब ५२ करोडभन्दा धेरै थियो । विभागकाअनुसार गत वर्षभन्दा आयत निर्यात अनुपात २३.९१ प्रतिशतको सुधार आएको छ ।
कुल आयातमध्ये डिजेल ४९ अर्ब १४ करोड रुपैयाँको आयात भएको छ। यसपछि पेट्रोल १८ अर्ब २७ करोडको आयात भएको छ। खाना पकाउने ग्यास १४ अर्ब ८७ करोडको आयात भएको छ। २२ अर्ब २५ करोडको स्टील भित्रिएको भन्सारको तथ्याङ्कमा उल्लेख छ।
त्यसैगरी १ अर्ब ९३ करोडको सिमेन्ट क्लिङकर आयात भएको छ।
आयात घटेर निर्यात बढे पनि रकममा निर्यात निक्कै कम भएका कारण आयात-निर्यात अनुपात भने २४ गुणा छ। नेपालले करिव १४४ देशसँग ब्यापार गरेको छ त्यसमध्ये ११२ देशसँग ब्यापार घाटामा छ।
सबैभन्दा बढि घाटा भारतसँग छ। त्यसपछि चीन, इन्डोनेसिया, युएमइ र अमेरिकासँग छ। बचत भने माल्दिभ्स, सुडानजस्ता देशहरुसँग छ। ती देशसँग नेपालको ब्यापार एकदमै कम छ।
समिक्षा अवधिमा भारतबाट ४ खर्ख २३ अर्ब ८३ करोड रुपैयाँ बराबरको आयात हुँदा ४० अर्ब १४ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ । भारतसँग ३ खर्ब ८३ अर्ब ६९ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको भन्सार विभागको तथ्यांक छ ।
यस्तै चीनबाट एक खर्ब १८ अर्ब २५ करोड रुपैयाँको आयात हुँदा एक अर्ब एक करोड ६५ लाख रुपैयाँ बराबरको मात्र बस्तु निर्यात भएको छ ।