काठमाडौँ: प्रहरीको इन्काउन्टरमा मारिएका दुई तामाङ परिवारका सदस्यहरुले आज राष्ट्रिय मनाव अधिकार आयोगमा उजुरी दिंदै आफ्नो छोराहरु निर्दोस रहेको बताएका छन्।
काठमाडौं काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । करिव दुई दर्जन समर्थकरुसहित तामाङका परिवार आयोगको केन्द्रिय कार्यालय दिउसो १२ बजे पुगेका थिए।
गोपालका बुवा शुकराम तामाङ र आमा छिन्दोम तामाङ तथा अजयका बुवा निमा तामाङले बुधवार ललितपुरको हरिहरभवनस्थित मानवअधिकार आयोगको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् ।
उजुरी दर्ता गराउने क्रममा अजयका बुवा निमा तामाङले आफ्नो छोरालाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको आरोप लगाए । ‘मेरो छोरो बिरामी थियो । विदेशबाट आएपछि दिनकै औषधि खानुपर्ने भएकाले काठमाडौं बसेको थियो । प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको छ । यसको छानबिन होस्,’ निमाले भावुक हुँदै भने ।
यस्तै गोपालकी आमा छिन्दोमले रुँदै आफ्नो निर्दोष छोराको हत्या भएको बताइन् । ‘मेरो छोरो निर्दोष थियो, किन मारियो ?’ रुँदै उनले भनिन्, ‘पेन्टिङको काम गर्छु भनेर काठमाडौं आएको हो । सोझो थियो । उसको त्यस्तो नराम्रो आचरण थिएन ।’
निशान खड्काको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले सोमवार भक्तपुरमा गरेको इन्काउन्टरमा गोपाल र अजयको मृत्यु भएको थियो ।
प्रहरी इन्काउन्टरमा छोरो मारिएपछि परिवारका सदस्य काठमाडौं आएका हुन् ।