काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय अव्यवस्था र सरकारले जनतालाई विकासमा मार्गदर्शन गर्न नसकेका कारण नेपाल गरिब देश भएको बताएका छन् ।
शुक्रबार सांझ बालुवाटारमा उद्योगी व्यवसायीहरूसँगको भेटघाटमा उनले शासकीय अव्यवस्था र सही नीति निर्धारण हुन नसक्नु तथा भएका नीतिको पनि सही कार्यान्वयन हुन नसक्नु लगायतले मुलुकलाई गरिब बनाएको तर्क गरे । तर वर्तमान सरकार विकासको गतिमा अघि बढेको र सोही अनुसार पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेकाले अब मुलुक आधुनिकता तर्फ लम्कने आश्वासन दिए ।
उनले भने, “हामी देश विकास गर्न चाहन्छौं । यो गरिब हुनै नहुने देश । गरिब हुनै नसक्ने देश । गरिब हुनै नपर्ने देश तर यथार्थमा गरिब छ । शासकीय अव्यवस्था र जनतालाई विकासमा सरकारले मार्गदर्शन गर्न नसक्नु, सही नीति निर्धारण गरेर त्यस बाटोमा अघि बढ्न नसक्नु ।”
उनले विभिन्न नीतिगत व्यवस्था सहि बन्न नसक्दा आर्थिक उन्नति हुन नसकेको र देशले विकासका गति समात्न नसकेको तर्क गरे । मुलुकमा पुर्वाधार विकासका पक्षमा उल्लेख्य काम भएको भन्दै इतिहास झल्कने आधुनिकता टल्कने दिशामा नेपाल अगाडि बढेको दाबी गरे ।
उनले समग्र राष्ट्रिय सामाजिक जीवनको सम्पुर्ण क्षेत्र कृषि, उद्योग, व्यापार,पर्यटन, शिक्षा,स्वास्थ्य लगायतको उत्थानबाट सम्मृद्ध नेपाल र आधुनिक नेपाल बनाउन चाहेको स्पष्ट पारे । उनले उत्पादन, उद्योग लगायतको समग्र उत्थानका लागि सरकार आवश्यक काम गर्न तयार रहेको भन्दै उपयुक्त र तथ्यपरक आधार सहित सुझाव दिन आग्रह गरे ।
उद्योग व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार सधै तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग व्यवसाय गतिशीलताका साथ अघि बढ्नुपर्ने स्पष्ट पारे । स्वदेशी उत्पादनको प्रयोग मात्रै नभई गुणस्तरीय स्वदेशी उत्पादन बढाउन पनि प्रधानमन्त्रीले सुझाव दिए ।
प्रधानम्नत्री ओलीले “कोही पनि पछाडि छोडिनु हुदैन, पछाडि पर्नु ÷पारिनु हँुदैन” भन्ने भनाईलाई सार्थक रुपमा अगाडि बढाउने बताए । उनले अटोमोबाइल्सका समस्याको कुरा भन्दा पनि नेपालमै अटोमोबाइल्स खोल्ने योजनामा लाग्न उद्योगीलाई सुझाव दिए । त्यसैगरी रोजगारी दिने खालका इन्ड्रष्ट्रिज खोल्न पनि उहाँले उद्योग व्यवसायीलाई आग्रह गरे ।